लम्पी स्किनबाट मर्ने पशुको संख्या ५० हजार नाघ्यो, १ खर्ब २६ अर्ब बराबर आर्थिक क्षति हुने प्रक्षेपण


काठमाण्डु- देशभर लम्पी स्किनबाट मर्ने पशुको संख्या ५० हजार नाघेको छ । साउन १२ गतेसम्म देशभर ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेको पशुसेवा विभागको तथ्यांकमा उल्लेख छ ।

देशभर कुल १० लाख ८८ हजार पशु संक्रमित भएकोमा ७ लाख ८९ हजार निको भएका छन् भने २ लाख ४८ हजार संक्रमित अवस्थामा रहेका छन् । कुल ३ लाख ५० हजार पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको विभागको भनाई छ ।

हालसम्म कोशी प्रदेशमा ५ हजार ४२, मधेसमा १ हजार ७ सय, वाग्मतीमा ३ हजार ४७६, गण्डकीमा २ हजार २९५, लुम्बिनीमा ४ हजार, कणर्ालीमा ८ हजार ७०३ र सुदूरपश्चिममा २५ हजार ६१० पशु मरेका छन् ।

नेपालमा पहिलो पटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईगोरुमा रोग देखा परेको थियो । रोगबाट हाल कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु बढी प्रभावित भएका छन् । संक्रमणबाट १ खर्ब २६ अर्ब बराबरको आर्थिक क्षति हुने प्रक्षेपण गरिएको छ ।

यस्तै संक्रमणले महामारीको रूप लिँदा पनि सरकारले भने कुनै प्रभाकारी कदम भने चालेको छैन। पशुपालक किसानहरुले भने संक्रमणलाई महामारी घोषण गर्न र क्षतिपूर्ति दिन माग गर्दै आन्दोलनमा नै उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement