वीर अस्पतालको जग्गामा नेकको चलखेल, अर्बौंको जग्गा हडप्न सञ्चालक समितिमा नगर प्रमुख


भक्तपुर- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १७४ रोपनी जग्गा नेपाल इन्जिनियरिङ कलेज(नेक)को नाममा गराउन चलखेल भएको छ ।

सो जग्गा नेकको नाममा ल्याउनकै लागि चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको छ । नेकले भोगचलन गरिरहेको अस्पतालको जग्गा कलेजलाई दिलाउन प्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको खुलासा भएको हो ।

नेकको १८०औं बैठकले नगर प्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरेको देखिन्छ । त्यसपछि नेकको १८४औं बैठकले नगर प्रमुख मिश्रलाई जग्गा आफ्नो नाममा सार्नका लागि जिम्मा दिएको छ । वीर अस्पतालको नाममा रहेको ५७० रोपनी जग्गामा ५० रोपनी अझ गायब भएको जमिन खोज्न सहयोग गर्नुको साटो कलेजले भोग चलन गरेको जमिन दिलाउन नगर प्रमुख आफंै लाग्नु लाजमर्दो भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेश गुरुङ बताउँछन् ।

नेकको सञ्चालक समिति बैठकले चाँगुनारायण नगर प्रमुख मिश्रलाई सम्बोधन गर्दै न्याम्सको जग्गा सधैंका लागि भोगचलनका लागि सिफारिस गर्न गरिएको निर्णयको नौ नम्बर बुँदाको प्रतिलिपि ।

‘हाम्रो जमिन हराएको छ । जमिनको खोजीमा छौं तर प्रमुख भने हाम्रो नाममा आएको जमिन उल्टै नेकका नाममा लैजान विभिन्न चलखेल गरिरहेको सुन्दा लाजमर्दो देखिएको छ,’ उपकुलपति गुरुङले भनेकाे खबर अाजकाे राजधानी दैनिकमा खबर छ ।

वीर अस्पताल दुवाकोटमा आउने तयारी गरेपछि विभिन्न समूहले जग्गा हड्प्न चलखेल गरिरहेको उनी बताउँछन् । भन्छन्, ‘कहिले नेकले दुःख दिन्छ । कहिले भू–माफियाहरूले ।’ १ हजार ५ सय शøयाको सुविधा सम्पन्न अस्पताल निर्माणको पूर्व सन्ध्यामा दुवाकोटको जग्गा विवाद भएमा कानुनी लडाइँ लड्ने गुरुङले बताए ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । विश्वविद्यालयले अभिलेखअनुसार नेक चाँगुनारायण भक्तपुरमा लम्बोदर न्यौपाने, डा. रामरत्न उपाध्याय, लवराज भट्टराई, डा. उपेन्द्र गौतम, हरिप्रसाद पाण्डे, सूर्यबहादुर केसी र सलिल भट्टराई बाहेक अन्य कोही पनि सञ्चालक समितिमा नरहेको योजना तथा कार्यक्रम महाशाखाका सहप्राध्यापक ज्ञानेश्वर शर्माले जानकारी दिएका छन् ।

उनले कलेजले आधिकारिक रूपमा सञ्चालक समितिमा कसैलाई पनि मनोनीत नगरेको बताए । ‘कसैले सञ्चालक हुँ भनी भन्छ भने त्यो सरासर झुट हो,’ उनले भने ।

नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोधर न्यौपानेले नेकले भोग चलन गरेको जमिन स्वास्थ्य विज्ञान प्रतिष्ठानकै भएको स्विकारे । ‘यसमा हाम्रो केही पनि अधिकार छैन तर हाम्रै सञ्चालकहरूमध्ये केहीले चाँगुनारायण नगरपालिकाका प्रमुखमार्फत उक्त जग्गा फिर्ता गर्छु भनेर हिँडेको मैले पाएको छु,’ उनी भन्छन् ।

न्यौपानेले कलेजको पूर्ण बैठकले कसैलाई आगन्तुक सञ्चालकका रूपमा नियुक्त गर्न पाउने विधानले व्यवस्था रहेको बताए । ‘नगर प्रमुखलाई समितिमा राख्ने बैठक पूर्ण होइन, त्यो उल्टिन पनि सक्छ,’ उनी भन्छन् । स्थानीय स्वायत्त शासन ऐनले समेत कलेजको सञ्चालक हुन पाउने नियम नरहेकोे दाबी गर्दै न्यौपान भन्छन्, ‘सञ्चालक समितिमा जबरजस्ती राखिएको छ ।’

तात्कालीन चाँगुनारायण गाविस र जिल्ला प्रशासन कार्यालयमा सामुदायिक कलेजका रूपमा दर्ता गरी आफूले भोगचलन गरेको जमिन नेकका नाममा ल्याउन २०६० सालमै संस्था दर्ता गरेको अध्यक्ष न्यौपानेले स्विकारे । त्यस आधारमा नवीकरण नै नभएको संस्था अहिले आएर कलेजका नाममा जमिन हडप्न लाग्नु अनुचित भएको उनी बताउँछन् ।

चाँगुनारायण नगरपालिकाका प्रमुख मिश्रले २०५२ सालको कलेजको विधानअनुरूप नै सञ्चालक बनेको बताए । कलेजले भोग चलन गरी आएको जमिनको सम्बन्धमा फिर्ता गर्नका लागि जिम्मा दिने निर्णय भएको उनले स्विकारे ।

‘कलेजको सञ्चालक भएको हैसियतले जिम्मा पाएको हुँ, कार्यान्वयन गर्ने÷नगर्ने भन्ने विषय पछिको कुरा हो,’ उनी भन्छन् । कलेजले होस्टल, अध्यापनका लागि कक्षाकोठा, पार्कलगायतका विभिन्न भौतिक संरचनाहरू निर्माण गरी २०५२ सालदेखि नै उक्त १७४ रोपनी जग्गा भोगचलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement