सुकुमवासी स्थानान्तरणका लागि जग्गा खोजी

सुकुमवासी स्थानान्तरणका लागि जग्गा खोजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिका बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुमवासी परिवारको स्थानान्तरणका लागि जग्गाको खोजी गरिरहेको छ ।

यही जेठ १२ गते गठित जग्गा व्यवस्थापन समितिले महानगरभित्रका विभिन्न वडामा पुगेर सम्भावित जग्गाको स्थलगत अध्ययन गरिरहेको समितिका संयोजक वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगीले बताए ।

उनल भने “समितिलाई दिइएको जिम्मेवारीअनुसार जग्गा खोज्ने काम भइरहेको छ, तोकिएको समायावधिमा महानगरपालिकालाई प्रतिवेदन बुझाउँछौँ”, महानगरपालिकाले वडाध्यक्ष योगीको संयोजकत्वमा सात सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरेको छ ।

दश कार्यदिनभित्र जग्गाको अध्ययन तथा स्थलगत खोज गरी महानगरमा प्रतिवेदन पेस गर्ने गरी समितिलाई जिम्मेवारी तोकिएको महानगरपालिकाले जनाएको छ । महानगरले बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराई आधुनिक सुविधासम्पन्न बसपार्क बनाउने योजना अघि सारेको छ । बसपार्कको जग्गामा ५७२ सुकुमवासी तथा भूमिहीन परिवार बसोबास गर्दै आएका छन् ।

महानगरपालिकाले बसपार्कको जग्गामा रहेका सुकुमवासी तथा भूमिहीन परिवारको लगत छानबिन तथा सत्यतथ्य पहिचानको कामलाई पनि अगाडि बढाएको छ । वास्तविक सुकुमवासीलाई अन्यत्र स्थानान्तरण गरी बसपार्कको अतिक्रमित जग्गा खाली गराउने तयारीमा महानगरपालिका लागिपरेको छ ।

महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना हटाउन सार्वजनिक रुपमा सूचना जारी गरिसकेको छ । यही जेठ १० गते पोखरा उपत्यका नगर विकास समितिले सूचना जारी गरी १५ दिनभित्र त्यस्ता संरचना खाली गर्न निर्देशन दिएको थियो ।

समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सघाउन सूचित गरेको हो । तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफेले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुलउपर गरिने जनाइएको छ ।

विसं २०३२ मा बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएपनि अहिलेसम्म पोखरामा व्यवस्थित बसपार्क बन्न सकेको छैन । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गा अतिक्रमण परेर अहिले करिब ६० रोपनी क्षेत्रफलमा सीमित रहेको महानगरपालिकाले जनाएको छ ।