बाढीपहिरोले आठ वर्षमा २०३५को मृत्यु


काठमाडौं – बर्खा लागेसँगै यस वर्ष पनि बाढीपहिरोको शृंखला सुरु भएको छ । मंगलबारदेखि लगातार परेको वर्षासँगै आएको बाढीपहिरोले देशव्यापी जनधनको क्षति भएको छ । शुक्रबार साँझसम्म विभिन्न जिल्लामा १८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

पहाडी जिल्लामा पहिरोको जोखिम धेरै देखिएको छ भने तराईका जिल्ला डुबानमा परेका छन् । प्राकृतिक प्रकोपकै कारण वर्षेनी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बाढीपहिरोबाट आठ वर्षमा दुई हजार ३५ जनाको मृत्यु भएको छ । सबै प्रकारका प्राकृतिक प्रकोपबाट यसै अवधिमा १२ हजार तीन सय ५० जनाको मृत्यु भएको गृहको तथ्यांकमा उल्लेख छ ।

०७३ यता तीन वर्षको अवधिमा देशमा नौ हजार तीन ८० वटा ठूला पहिरा गएको वन तथा जलाधार विभागअन्तर्गत रहेको जलाधार तथा पहिरो व्यवस्थापन महाशाखाले जनाएको छ । ती पहिरोबाट ९५ दशमलव १ वर्गकिलोमिटर माटो बगेकोे छ । भित्री मधेस र पहाडी क्षेत्रका जिल्लामा सबैभन्दा धेरै पहिरो गएको वन तथा जलाधार विभागका जलाधार तथा पहिरो व्यवस्थापन महाशाखाका पहिरोविद् प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार तराई र हिमाली जिल्लामा भने कम पहिरो गएको छ । ‘हामीले गुगल म्यापसहित प्राप्त सूचनाका आधारमा देशैभर पहिरोको तथ्यांक संकलन गरेका थियौंँ,’ पौडेलले भने, ‘अध्ययन गर्ने क्रममा भित्री मधेस र पहाडी क्षेत्रका जिल्लामा धेरै पहिरो गएको पायौँ ।’जथाभावी ग्रामीण सडक निर्माणसँगै भौतिक संरचनासहित विकास निर्माणका कारण धेरै पहिरो गएको हुन सक्ने पौडेलले बताए ।

सरकारको भू–उपयोग खेती प्रणाली वैज्ञानिक नहुँदा निरन्तर पहिरो गइरहेको उनको भनाइ छ । हरेक वर्ष पहिरोबाट भौतिकसँगै मानवीय क्षति हुने भएकाले सरकारले बजेट विनियोजन गरी जोखिम कम गर्नुपर्ने महाशाखाले जनाएको छ । यो खबर आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement