बाढीले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध,बस्ती र सडक डुवानमा


काठमाडौं – अविरल वर्षाका कारण आएको बाढीले पूर्वपश्चिम राजमार्गको चन्द्रपुर बागमती खण्डको लच्कामा बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ। चन्द्रनिगाहपुरदेखि तीन किलोमिटर पश्चिम लच्कामा बाढी आएर राजमार्ग अवरुद्ध हुंदा सवारी साधन रोकिएका छन्।

रातिबाट नै सवारी साधन आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । राजमार्गको लच्कामा पानीको बहाव घटेको छैन। केही सवारी साधन बाढीमा पसेका थिए। प्रहरीले ती गाडीलाई निकालेका छन्।

तीन दिनदेखि भएको अविरल वर्षाका कारण रौतहट जिल्लाको जनजीवन प्रभावित भएको छ। जिल्लाका एक दर्जनभन्दा बढी बस्तिमा पानी पस्न थालेको छ। लाल बकैया नदीमा आएको बाढीले बन्जरहाको बाँध कटान गरेको छ । जसका कारण त्यस क्षेत्रका आधा दर्जन बस्ती डुवानमा परेका छन् । रौतहट प्रहरीका अनुसार सडकमा बाढी पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ । जसका कारण दुवैतर्फका सवारी रोकिएका छन् ।

सडकको अवरोध हटाएर सडक सुचारु गर्ने तयारीमा प्रहरी लागेको बुझिएको छ । स्थानीय प्रशासनले नदी छेउका बासिन्दालाई अवस्था हेरी बस्तिमा नदी पस्ने सक्ने संभावना भएमा सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

नदीले बाँध कटान गरे सुरक्षा निकालाई खवर गर्न, तयारी खाना जस्तो-चिउरा, दाल्मोठ, चाउचाउ, बिस्कुट आदि छुट्टै प्याक गरी सुरक्षित स्थानमा राख्न, बालबालिकालाई अभिभावकको साथबिना बाहिर निस्कन नदिन पनि स्थानीयलाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement