लाङटाङ हाइड्रोको १५० मिटरभित्र पुग्यो उद्धार टोली, तर, भेटिएनन् बेपत्ता ३९ कामदार

लाङटाङ हाइड्रोको १५० मिटरभित्र पुग्यो उद्धार टोली, तर, भेटिएनन् बेपत्ता ३९ कामदार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा– १० भदौमा आएको भोटेकोशी बाढीका कारण ठूलो क्षति पुगेको रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनामा बेपत्ता भएकाको खोजीका लागि अपनाइएका सबै सम्भावित विकल्पबाट थप सफलता हात नलागेपछि कम्पनीले खोजी अभियान रोकेको छ ।

२० मेगावाट क्षमताको आयोजनामा बाढी आउँदा कार्यरत ६० जना सम्पर्कविहीन भएका थिए । १९ जनाको जीवितै उद्धार भएको थियो । खोजी तथा उद्धारका क्रममा बिहीबार सुरुङभित्रबाट थप दुई जनाको शव भेटिएको थियो ।

बाढीपछि सम्पर्कविहीन भएका ४१ जनामध्ये ३९ जनाको अवस्था अझै अज्ञात छ । कम्पनीका अनुसार उनीहरूको खोजीका लागि सुरुङको प्रत्यक्ष प्रवेशमार्गदेखि वैकल्पिक प्राविधिक पहुँचसम्म प्रयोग गरिएको थियो ।

उद्धारका लागि कम्पनीको प्राविधिक टोलीले पेनस्टक पाइप काटेर बाटो बनाएपछि नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको उद्धार टोली करिब १ सय ५० मिटर लामो सुरुङका अन्तिमसम्म बिन्दुसम्म पुगेको थियो ।

सोही क्रममा दुई जनाको शव भेटिएको हो । थप व्यक्ति फेला पर्न सक्ने सम्भावना नदेखेपछि उद्धार रोकिएको कम्पनीले जनाएको छ ।

आयोजना प्रवर्द्धक तथा निर्माण कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले उद्धारका क्रममा सुरक्षाकर्मी र प्राविधिक टोलीले सम्भव सबै प्रयास गरेको बताए ।

‘सुरुङभित्र पुग्न सबै प्रयास गरियो । तर, अब बेपत्ता भएका हाम्रा थप मानिस भेट्ने सम्भावना छैन भन्ने प्रविधिक विश्लेषणपछि हामीले टिमलाई बाहिर निकाल्यौं ।’

भट्टराईले कठिन र चुनौतीपूर्ण खोज तथा उद्धार कार्यमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उद्धारकर्मीको प्रशंसा गरे ।

भट्टराई स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का सचिवसमेत हुन् ।

भट्टराईले बेपत्ता कामदारका परिवारलाई खोज तथा उद्धारका लागि भएका प्रयास तथा उनीहरुलाई फेला पार्न नसकिने निस्कर्षबारे जानकारी गराइएको पनि बताए ।

‘जति पनि हाम्रा साथीहरु बेपत्ता हुनुभएको छ, उहाँहरुका परिवारलाई हामीले अत्यन्तै दुःख र भारी मनका साथ अब भेटिने सम्भावना नरेहको जानकारी गरायौं’, भट्टराईले काठमाण्डु पाटीसँग भने ।