माओवादी नेतृत्वलाई प्रश्न:एकतापछि माओवादी आन्दोलन के हुन्छ ?


-गणेश बुढा,माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी जन्मेको हो या नेपाल कम्युनिष्ट पार्टीबाट नेकपा माओवादी केन्द्रको जन्म भएको हो ? यो प्रश्नको उत्तर ऐतिहासिक छ्लफलको विषय बन्ला तर आजको नेपाली समाजको आवश्यकता भने कम्युनिष्ट शक्तिहरु एक भएर स्थायी सरकार निर्माण गर्दै समाजबादतिर जाने नै हो ।

हाम्री आमा माओवादी भएकै कारण हामी नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको हो भन्ने तर्कलाई मोडालिटीमा भन्न त सकिएला तर वास्तवमामा यो एकताको एउटा पाटो होला । अर्कोतिरर साङ्केतिक रुपमा दर्शनको अवधारणा निर्माण गर्दै जनताको बहुदलीय जनबाद मार्फत साङगठनिक मजबुतिकरण गर्दै जनमत सहित नेकपा एमाले पार्टी मिलेर पार्टी एकीकरण हुंदै गर्दा चुनौतीपूर्ण यात्रा पनि कम्तिको छैन । म माओवादी केन्द्रमा आफुलाई राजनीतिक चेतनाको सुरुआत भए देखी नै लागी रहेको र अझै लागिरहने एक कटिबद्ध कार्यकर्ताका रूपमा स्विकार्दै फेरिपनि पार्टी एकता कै पक्षमा आफुलाई अब्बल रूपमा उभ्याएको छु । आजसम्म जहिल्यै पार्टीको संस्थापन भएर नै काम गरियो, एकपटक पनि दल फेरिएन तर नेकपा माओवादी, एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुंदै भोलि देखि नेपाल कम्युनिस्ट पार्टीको सदस्य हुने ऐतिहासिक दिनसम्म आउदै गर्दा आज हामी नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएका छौं ।

जुन महान उदेश्यका साथ कमरेड पुष्पलालले बिक्रम सम्बत २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो । अब त्यसले सार्थकता प्राप्त गर्ने दिशामा हामी अगाडि बढिरहनुको विकल्प छैन । महान जनयुद्ध, जनआन्दोलन, संविधान सभा ,संघीयता हुंदै यो देशलाई समाजबादी बाटो अगाडि बढाउने महाअभियानमा लाग्दै गर्दा हाम्रो मुलुक विकसित र समृद्धितिर अगाडि बढिरहेको देख्न पाइयोस् हामी आम कार्यकर्ताको भावना यहि हो ।

एमाले : माओवादी सात बुंदे समझदारी

१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।
२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।
३) ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।
४. नेकपा एमालेले अपनाउंदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
६. महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने छ । र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ ।
७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

उपरोक्त सात बुंदे सहमति पत्रमा जनयुद्ध नामको आन्दोलनलाई समेत कहिँ कतै ठाउं नदिनुलाई मैले गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने कुराको वकालत गर्दछु । हामी सधैं यस म्यान मात्रै हैन आलोचनात्मक चेत सहितको टिप्पणि गर्नुपर्ने कुराको पक्षमा वकालत गर्नुपर्छ भन्ने मान्यता पनि राख्नु पर्दछ ।
नेपालको इतिहासमा दुई ठुला पार्टीहरु मिल्ने कुरामा ऐतिहासिक परिवर्तन त हुन्छ तर पनि जनयुद्ध गर्दै गर्दाका शक्तिहरु मर्न तयार हुने योद्धाहरु आज छुट्टीएर गएको समयमा हामी सत्ता समीकरण मिलाउनेतर्फ लाग्दै गर्दा हाम्रो अध्यायको सुरुवात कस्तो हुदैछ ? यी प्रश्नहरुको उत्तर खोज्नु पर्छ कि पर्दैन ?

हामी माओवादी केन्द्र जनआन्दोलन, जनयुद्धलाई अलग अलग गरेर कसरी बिच्छेदन गर्न सक्छौं ? अब स्थायी सरकार निर्माण गरेर नव पुजीवादी व्यवस्थासंगै अगाडि बढी रहदा हाम्रो मुद्धाहरु कसरी उठाउन सक्छौ ? हामी बिश्व समाजबादको वकालत गर्दै गर्दा कुन ढंगले नेपाली पुजीवादीको बिकास गर्न सक्छौ र समाजबाद्को निर्माण गर्न सक्छौ ? हामी फेरि पनि पार्टी मात्रै बनाउंदै छौ या अब देश बनाउनेतर्फ लाग्दै छौं ? हामीले अहिलेसम्म नीति मात्र परिवर्तन गर्यौ अब हामी नियति नै परिवर्तन गर्न सक्छौ कि सक्दैनौं ? अबको हाम्रो मुद्दा बिश्वमै कम्युनिष्टको नयां खाका कोरेर अबको ५ बर्षमा नेपाल कस्तो हुन्छ ? अबको १०ः२० बर्षको कस्तो हुन्छ खाका प्रस्तुत गर्न सक्छौ कि सक्दैनौ ? पार्टी एकतामा जादै गर्दा माओवादी केन्द्रका आम कार्यकर्ताको मनमा यी प्रश्नहरुले उत्तर खोजिरहेका छन् । आशा छ पार्टी नेतृत्वले कार्यकर्ताका मनमा उठेका यी प्रश्नको उत्तर समयमै दिने छ ।

(लेखक नेकपा माओवादी केन्द्र बझाङकाठमाडौं संघीय जनसम्पर्क मञ्चका अध्यक्ष, अखिल क्रान्तिकारी पूर्वकेन्द्रिय सदस्य एवं त्रिभुवन बिश्वविद्यालयका विद्यार्थी नेता हुन्)

प्रतिक्रिया दिनुहोस
Advertisement