काठमाण्डु – डोल्पाको काईके गाउँपालिका–४ रिवा गाउँमा खहरे खोलाको लेदोले १२ वटा घर पुरिएका छन् । गएराति बस्तीभन्दा माथि रहेका तीन वटा खहरे खोलाबाट लेदो बगेर बस्तीमा पुगेको थियो ।
बस्तीमा ५० देखि ५३ वटा घर रहेका र एउटा विद्यालयसहित चार वटा घर तथा भवनमा पूर्णरूपमा र अरू आठ वटा घरमा सामान्य क्षति गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काका अनुसार मानवीय तथा पशुचौपायामा क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन । मोटरबाटो खन्दा निस्किएको माटो र ढुङ्गासहितको लेदो बगेर बस्तीमा पसेको हुनसक्ने प्रहरीको अनुमान छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली प्रभावित क्षेत्र रिवा गाउँमा खटिएको छ । उद्धार टोलीले स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने र पुनर्स्थापनामा आवश्यक सहयोग गरिरहेको छ । रिवा गाउँ जिल्ला सदरमुकाम दुनै बजारबाट झन्डै ६ देखि ७ घण्टाको पैदल दूरीमा पर्छ ।
उद्धार टोलीले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने, घरभित्रका सामान निकाल्ने र पुनस्र्थापनामा सहयोग गरिरहेको छ । काइके गाउँपालिकाका अध्यक्ष अंगद कुमार राना पनि प्रभावितहरुका लागि खाद्यान्न र बासको व्यवस्था मिलाउन लागेका छन् ।
पहिरोका कारण अधिकांश घरहरु बस्न नमिल्ने भएका छन् । घरभित्र लेदो पसेकाले स्थानीय बासिन्दा विस्थापित भएका छन् ।
डीएसपी खड्काका अनुसार पहिरो प्रभावित क्षेत्रमा बर्खाको समयमा मात्रै बग्ने तीनवटा खहरे खोला छन् । माथिबाट पहिरो खस्न सुरु भएपछि ती खोलाहरूमा ठूलो आवाजसहित ढुङ्गामाटो बग्न थालेको थियो ।
यही गडगडाहटको आवाजले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सम्भावित खतराको पूर्वसंकेत दिएकाे थियाे ।
खतराको संकेत पाउनासाथ स्थानीय बासिन्दाहरू तुरुन्तै घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ भागेका थिए भने उनीहरू घरबाट निस्केको केही समयमै पहिरोले क्षति पुर्याएको खड्काको भनाइ छ ।
प्रतिक्रिया