भेनेजुएला प्रकरणमा प्रचण्डकाे विज्ञप्ति सही, सार्वभौकितामाथि हस्तक्षेप गरिनु हुन्न : लेखराज भट्ट


सुदूरपश्चिमका प्रभावशाली नेता हुन् लेखराज भट्ट । उनलाई त्यागी नेता पनि भनिन्छ । तत्कालीन एमाओवादीभित्र निक्कै प्रभाव जमाएका नेता भट्ट नेकपाको स्थायी कमिटि सदस्य हुन् भने उनी नेकपाको पार्टी एकता कार्यदलका सदस्य पनि हुन् । पछिल्लो समय नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलाको समर्थन गर्दै प्रेस विज्ञप्ती जारी गरेपछि नेपालको राजनीतिक वृत्तमा तरंग ल्याएको छ । प्रस्तुत छ, यही विषयमा नेता भट्टसँग गोपाल बराइलीले गरेको कुराकानी :

भेनेजुएलाको राजनीतिले नेपालको राजनीतिलाई नै प्रभावित बनायो । यसलाई कसरी लिनुहुन्छ ?
एउटा स्वतन्त्र राष्ट्रमाथि अरु देशले दुरुपयोग गर्नुहुन्छ कि हुन्न ? हस्तक्षेप गर्नुहुन्छ की हुन्न ? यो गम्भीर कुरा हो । हामी पनि दुई वटा विशाल देशका बीचमा छौं । भोली कुनै पनि त्यस्तो परिस्थितीको सिर्जना भयो वा देशले हस्तक्षेप ग¥यो भने कुनै पनि देशले आफ्नो सार्वभौममाथिको हस्तक्षेप सहन सक्दैन । भेनेजुएलामाथि अहिले भइरहेको हस्तक्षेप त्यो देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रियतामाथिको हस्तक्षेप हो । त्यही भएर अहिले पार्टीले जे धारणा अघि सारेको छ, त्यो अहिलेको अवस्थामा ठीक छ । र, सरकारले पनि त्यही अनुसार नेपालको आफ्नो आधिकारिक धारणा बनाइसकेको छ । तर, यो विषयमा बोल्दा प्रतिपक्षलाई पनि राखेर छलफल गरेर एउटै धारणा बनाएर जानु पथ्र्याे । त्यो हुन सकेन । त्यही भएर पनि दुई प्रकारका धारणा गयो । त्यसलाई सच्याइनुपर्छ ।

नेकपाका अध्यक्ष प्रचण्डले विज्ञप्ती निकाल्दा नै हतार गर्नुभयो भन्ने टिकाटिप्पणी पनि भएको छ, यसलाई कसरी लिनुहुन्छ ?
विज्ञप्ती निकाल्दा हतार भयो कि भएन भन्ने कुरा समिक्षाको विषय हो । तर, उहाँले गरेको कुरा ठीक छ कि छैन भन्ने कुरा मुख्य कुरा हो । मुख्य कुरा कुनै पनि देशले अर्काे देशको सार्वभौकितामाथि हस्तक्षेप गरिनु हुन्न भन्ने नै हो । विश्वमा थुप्रै साना मुलुकहरु छन्, जो सार्वभौम छन् । ठूला मुलुक त थोरै छन् । अझ शक्तिशाली भन्ने त औलामा गन्न सकिने छन् । त्यसकारण बलियाले सानालाई खान मिल्छ कि मिल्दैन भन्ने प्रश्न आउँछ । हामी पनि सानो देश हौं । तर, हाम्रो आफ्नै अस्तित्व छ । सानो छौं भन्दैमा कसैसँग झुक्ने वा ठूलाले हामीलाई दबाउने भन्ने कुरै आउँदैन ।

अहिले भेनेजुएलाको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दुई ध्रुवमा बाडिनुपर्ने कारण चाँही के हो नि ?
विचारधारा र पर्याप्त छलफल नहुँदा पनि भेनेजुएलाको पछिल्लो घटनाक्रमबारे नेपालका पार्टीहरुले फरकफरक धारणा बनाए । अहिले यो परिस्थितीमा कुटनीतिक क्षेत्रमा दुई वटा धारणा बनाएर जानुहुँदैन । एउटै धारणा बनाएर जानुपर्छ । त्यसको लागि जहाँनेर कमी कमजोरी भएको छ, त्यसलाई सच्याएर मुलुकको कुटनीतिक धारणा एउटै बनाउन सक्नुपर्छ । अन्य मुलुकमा जतिसुकै आन्तरिक विभेद भए पनि वैदेशिक नीति एउटै हुन्छ । त्यो प्रकारको विदेश नीति विकास गरेर एउटै आवाज बोल्नुपर्छ । हामीमा अलिकति अभ्यासको कमी छ । त्यो चाँही सत्य हो ।

यसरी भिन्नभिन्नै बोल्ने परम्पराको अन्त्य कहिले हुन्छ त ?
हामीले पहिले त राष्ट्रको पोलिसी बनाउनुपर्छ । त्यसको लागि छलफल गर्नुपर्छ र भई पनि रहेको छ । खासगरी थिंक ट्यांकको अवधारणा ल्याएर भौगोलिक र सामाजिक अवस्थाको मुल्यांकन गरी मुलुकको सार्वभौमिकता र राष्ट्रियतालाई बचाउने स्वार्थमा केन्द्रित रहने अवस्थाको सिर्जना गरिनुपर्छ । त्यही प्रकारको परराष्ट्र नीति पनि बनाइनुपर्छ ।

तर, अहिले प्रचण्ड र सरकारले जारी गरेको विज्ञप्ती हेर्दा त नेपालले परराष्ट्र नीति नै बनाउन नसकेको देखियो नि, होइन र ?
चित्त नबुझ्नेका लागि अध्यक्ष ज्युले जारी गरेको विज्ञप्तीलाई राम्रो भन्ने कुरा त भएन । कतिपयले भेनेजुएलामाथिको बाह्य हस्तक्षेपको समर्थन गरिदिए हुन्थ्यो भन्ने पनि चाहेका थिए होला । तर, त्यो हामीले त्यो मान्ने कुरा त भएन । मात्र टेवलमा बसेर परराष्ट्र नीति यो हो भनेर प्रष्ट्याउन नसकेको चाँही सत्य हो । हामीले कुनै पनि देशले अर्काे देशको सार्वभौकितामाथि हस्तक्षेप गर्नुहुँदैन भन्ने कुरामा एकमत हुनुपर्छ ।

भेनेजुएलाको समर्थन गरेपछि प्रधानमन्त्री ज्यूको अमेरिका भ्रमण नै रद्द भयो भन्ने कुरा आयो । खास कुरा के हो ?
मलाई त त्यस्तो लाग्दैन । यो एउटा हल्ला मात्रै हो । यो त भेनेजुएलालाई समर्थन गर्दा नेपाललाई अफ्ठेरो पर्छ भनेर हल्ला फिजाउनेहरुको काम हुनसक्छ । त्यो विषयमा सरकारले पनि आफ्नो धारणा ल्याउँला ।

तर, सत्तारुढ दलभित्रै पनि त भेनेजुएलाको विषयमा एक मत हुन नसकेको देखियो नि त ?
त्यस्तो होइन । नेकपाका अध्यक्ष ज्युले जे बोल्नुभयो र जे विज्ञप्ती निकाल्नु भयो, त्यसैलाई नेकपाको सचिवालयको बैठकले अनुमोदन पनि गरेको छ । यस्तो अवस्थामा फरक मत आए जस्तो लाग्दैन । केही सामान्य असनतुष्टि हुनसक्छ । त्यसलाई अन्यथा लिनुहुँदैन ।

प्रशंग बदलौं, नेकपाको एकता प्रक्रिया अल्झिनुको कारण के हो ? किन ढिलाई भइरहेको छ एकता प्रक्रिया ?
हिजो जसरी हामीले ऐतिहासिक कदम चाल्यौं, अर्थात् जसरी कम्युनिस्टहरु एक ठाउँमा बस्न सक्दैनन् भन्ने थियो, त्यसलाई तोडेका छौं । अझ दुई वटा ठूला कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आउँदा देशमा केही हुन्छ भनने पनि थियो । निर्वाचनका बेला पनि त्यही कुरा व्यक्त भयो । यो केही व्यवहारिक र नेतृत्वको व्यस्तताका कारण तल्ला तहसम्म एकता हुन सकेको छैन । तिन महिनाभित्रै सक्ने भन्ने थियो । तर कार्यदलले पाएको समयसीमा भित्र काम गर्न नसक्दा पनि केही समस्या आएको छ । र अहिले आएर केही नेतृत्वको व्यस्तता र व्यवहारिक कठिनाईले केही ढिलाई भएको छ । अब यो क्रम धेरै रहन्न ।

कहिलेसम्म एकता भइसक्छ त ?
विविध कारणले एकता भइनसकेको भए पनि सबै तहमा पार्टीका गतिविधिहरु भइरहेका छन् । केन्द्रमा सबै जनवर्गीय संगठन एकता भइनसक्दा केही अफ्ठ्यारा आएका छन् । तर, यसलाई चिरेर भए पनि पार्टी अघि बढिरहेको छ । त्यसलाई मध्यनजर गर्दै नेतृत्व तहले चाडोभन्दा चाडो एकता प्रक्रिया टुंग्याउन लागिरहेको छ । निशान न्यूजबाट साभार

प्रतिक्रिया दिनुहोस
Advertisement