चेतनाको कमिले उपभोक्ताहरु ठगिएः उद्योगमन्त्री भट्ट


काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको कमिका कारण उपभोक्ताहरु ठगिने गरेको बताएका छन् ।

बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन् ।

उपभोक्ताहरुले कुनै वस्तु खरिद गर्दा उत्पादन भएको मिति, म्याद सकिने मितिका विषयमा जानकारी नै नराख्ने गरेका कारण ठगिको क्रम बढेको उनले बताए ।

‘कुनै पनि वस्तु खरिद गर्दा म ठगिन सक्छु । मेरो स्वास्थ्यमा प्रतिकूल असर पर्छ कि पर्दैन भन्ने कुरामा ध्यान दिनुपर्छ’, उनले भने ।

उपभोक्ता हितका लागि बनेको संगठनहरुको प्रकृति र उद्देश्य बुझ्न जरुरी रहेको भन्दै मन्त्री भट्टले यसका लागि सचेतना अभियान गाउँ–गाउँसम्म पुग्न जरुरी रहेको बताए ।

बजार अनुगमनको कार्यशैली फेर्नुपर्ने भन्दै उनले अहिले पनि मध्यमवर्गीय जनतामा वस्तुको मूल्य, उत्पादन र म्याद सकिने मिति सोध्न नसक्ने कमजोरी रहेको उल्लेख गरे ।

ठगी गर्ने्विरुद्ध पटक–पटक हुने दण्ड जरिवानाको प्रकृति एउटै भएका कारण पनि उपभोक्तालाई ठगि गर्ने क्रम नरोकिएको उनको भनाइ थियो ।

उपभोक्ताको हक संरक्षणका लागि पहिले आफुबाट परिवर्तन हुन सकेमात्रै अरुलाई परिवर्तन गर्न सकिने बताए । कार्यक्रममा अन्य सहभागीहरुले यस्ता अभियानलाई वडा तहसम्म लैजानुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement