केपी ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा रहनुहुन्छ : उद्योगमन्त्री भट्ट


काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिले पार्टीको स्थायी कमिटीको बैठक नै आवश्यक नरहेको धारणा राखेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा कुराकानी गर्दै मन्त्री भट्टले अहिले स्थायी समिति बैठके आवश्यक नभएको बताए ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री भट्टले आफू कुनैपनि गुटमा नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीको साथमा भने रहेको धारणा राखे ।

‘म कुनै गुटमा छैन् । सरकारमा छु । मन्त्री छु । प्रधानमन्त्रीको साथमा छु । अहिले मलाई प्रचण्डले बोलाउनुभएको छैन् । मन्त्री भएदेखि उहांले मलाई फोन पनि गर्नुभएको छैन् । म पनि उहांकहां गएको छैन् । अस्ति उहांकी छोरीले फोन गर्नुभएको थियो । तर, मैले उठाईन् ।’ नेता भट्टले भने ।

नेता भट्टले स्थायी कमिटीको बैठकको माग गर्नु बेमौसमको बाजा भएको बताए । उनले अहिलेको समय भनेको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रीकृत हुनुपर्ने बेला भएको धारणा राखे ।
स्थायी कमिटी बैठक बोलाउने सम्भावना नभएको भन्दै उनले पाटीभित्र अहिले एक व्यक्ति, एक पदको आवाज उठेकोमा समेत असन्तुष्टि पोखे ।

मन्त्री भट्टले भने ‘केपी ओली दुवै पदमा रहनुपर्छ । एक व्यक्ति, एक पद पनि बेमौसमको बाजा हो । कसले र किन यो माग उठाईरहेका छन् मैले बुझिन् । तर, केपी ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा उहां रहनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement