एमालेले मेयरमा बाजी मारेको क्षेत्रमा लेखराज भट्ट कति सुरक्षित?


गोविन्द रोस्यारा
कैलाली–दोस्रो चरणमा हुने चुनावका लागि कैलाली जिल्लामा दलहरुले प्रचारप्रसारलाई तीब्र पारेका छन्। दलका उम्मेदवारहरु भोट माग्न स्थानीय मतदाताको घरघरमा पुग्न थालेका छन्।

 

कैलालीको क्षेत्र नम्बर ४ र ५ लाई विशेष महत्वका साथ हेरिएको छ।

 

 

क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री देउबा पत्नी आरजु देउवा चुनावी मैदानमा छन् भने क्षेत्र नम्बर ४ बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रभावशाली नेता लेखराज भट्ट चुनावी प्रतिस्पर्धामा रहेका छन्।

 

 

कैलालीको क्षेत्र नम्बर ४ मा गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, चुरे गाउँपलिका र मोहन्याल गाउँपालिकाका दुई वटा वडा रहेका छन्।

 

 

स्थानीय तहको निर्वाचनमा  यी सबै क्षेत्रमा एमालेले विजयी हासिल गरेको थियो। अहिलेको निर्वाचनमा कसले विजयी हासिल गर्ला भन्ने अडकल शुरु हुन थालेको छ।

 

 

नेपाली कांग्रेसबाट क्षेत्र नम्बर ४ मा पूर्वकेन्द्रीय सदस्य सुनिलकुमार भण्डारी चुनावी मैदानमा होमिएका छन्।

 

 

यस क्षेत्रमा बसोबासको हिसाबले डोटीको गडसेरा, जोरायल, निरौली लगायतका ठाउँका बासिन्दाको बाहुल्यता रहेकाे छ।  उम्मेदवार भण्डारी र भट्टको पहाड घर पनि एकै ठाउँ भएकोले दुबैको भोट ब्यांक एउटै रहेको धेरैले अनुमान गरेका छन्।

 

 

पहिलो संविधान सभाको निर्बाचनमा यस क्षेत्रबाट माओबादीका नेता लेखराज भट्ट विजयी भएका थिए दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेस नेता दीर्घराज भाट बिजयी भएका थिए।

 

 

स्थानीय तहको निर्बाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा बाम गठबन्धनले सजिलै जित्ने अनुमान गर्न सकिन्छ तर, त्यो आधार यो निर्वाचनमा लागु नहने कांग्रेस नेताहरूको बुझाइ छ।

 

 

स्थानीय तहको निर्वाचनमा कांग्रेसभित्रको अन्तरकलहको फाइदा एमालेले उठाएको कांग्रेसका युबा नेता फणीन्द्र भण्डारीको भनाई छ।

 

 

 

गोदावरी नगरपालिका बिगतदेखि नै कांग्रेसको बलियो पकड रहेको क्षेत्र भएकोले अहिलेको निर्वाचनमा कांग्रेसले जित्ने नेपाली कांग्रेसका महासमिति सदस्य पदमराज भट्टको दाबी छ।

 

 

अहिलेको प्रचारप्रसारलाई हेर्दा कांग्रेस गोदावरी नगरपालिकामा बलियो देखिएको छ भने बाम गठबन्धन गौरिगंगा नगरपालिकामा बलियो देखिएको छ।

 

 

 

चुरे गाउँपालिकामा दुबैले आआफ्नो बलियो स्थान रहेको बताएका छन्।

 

 

 

कांग्रेस र एमालेको सांगठनिक मत बराबर भएको भए पनि माओबादीको सांगठनिक मत निकै कमजोर रहेको छ।

 

 

 

एमालेको सांगठनिक मतमा माओवादीको मत मिलाउने हो भने बाम गठबन्धनले सजिलै जित हात पार्ने एमाले र माओवादीको बुझाई छ।

 

 

 

माओवादी नेता लेखराज भट्ट केन्द्रीय नेता भएको र उनले सुदूरपश्चिमको विकासमा महत्वपूर्ण योगदान पुर्याएकाले पनि उनको धेरै मत व्यक्तिगत आउने पनि गठबन्धनको बुझाई रहेको छ।

 

 

 

 

यहाँ थारु मतदाता निर्णायक रहने देखिन्छन। गोदावरी नगरपालिकामा थारु मतदाता कम रहेपनि गौरिगंगा नगरपालिकामा थारु मतदाताको संख्या धेरै रहेको छ।

 

 

 

एमाले नेतृ चुनुकुमारी चौधरी थारु मत सबै कांग्रेसमा जाने कुरा हास्यास्पद रहेको बताउछिन्। मतदाता विगतको जस्तो लोभलालचमा नफस्कने उनको दाबी छ।

 

 

 

 

कांग्रेसले कैलाली क्षेत्र नम्बर ४ को प्रदेश ‘क’ मा थारु समुदायका यज्ञ चौधरीलाई उम्मेदार बनाएको छ । चौधरी उम्मेदवार बनेपछि थारु मतदातालाई प्रभाबित पार्न सहज हुने कांग्रेसको बुझाई छ।

 

 

माओवादी केन्द्रका स्थानीय नेता मेखराज भट्टले काग्रेसका उम्मेदवार निकै कमजोर र जनतामा नछाएको जिकिर गरे। यहाँ बसोबास नगर्ने ब्यक्तिलाई कांग्रेसले उम्मेदवार बनाएकोले पनि उसले जित्न नस्कने भट्टको बुझाई छ।

प्रतिक्रिया दिनुहोस
Advertisement