काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले राहदानी प्राप्त गर्ने प्रक्रिया थप सहज र नागरिकमैत्री बनाउन सरकारसँग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभामा ‘राहदानी ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा अधिकारीले विदेश जाने नेपालीको संख्या बढिरहेको अवस्थामा राहदानी सेवा पनि सोहीअनुसार सहज र व्यवस्थित बनाइनुपर्ने बताइन् ।
विदेशमा रहेका, बाबुको पहिचान नखुलेका वा आमाबाट मात्र पहिचान खुलेका बालबालिकालाई राहदानी उपलब्ध गराउने प्रक्रिया व्यवहारिक बनाउनुपर्नेमा ृउनको थियो । राहदानी वितरणमा सेवाग्राहीले अनावश्यक झन्झट व्यहोर्न नपर्ने व्यवस्था गर्नुपर्ने उनले उल्लेख गरिन् ।
अधिकारीले हराएको वा क्षति भएको राहदानीका लागि जारी गरिने अस्थायी राहदानीको अवधि नौ महिनाबाट बढाएर दुई वर्ष पुर्याउने विधेयकको प्रस्ताव सकारात्मक रहेको बताइन् । राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्था समयअनुकूल बनाउन विधेयक आवश्यक रहेको उनको धारणा थियो ।
नेपालको अर्थतन्त्र वैदेशिक रोजगारी र विदेशबाट आउने रकममा धेरै हदसम्म निर्भर रहेको उल्लेख गर्दै उनले विदेश जाने नागरिकका लागि राहदानी प्राप्त गर्ने प्रक्रिया थप सरल बनाउनुपर्ने बताइन् । उनका अनुसार करिब ७० लाख नेपाली वैदेशिक रोजगारीमा रहेका छन् भने विदेशबाट आउने रकमले कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशतभन्दा बढी योगदान गरिरहेको उल्लेख गरिन् ।
कूटनीतिक तथा विशेष राहदानीको दुरुपयोग रोक्न पनि कडाइ गर्नुपर्ने अधिकारीले बताइन् । यस्ता राहदानी निश्चित प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउने र पदावधि समाप्त भएपछि अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने व्यवस्था विधेयकमा राखिनु सकारात्मक रहेको उनको भनाइ थियो ।
रद्द भएका राहदानीको विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठनलाई उपलब्ध गराउने व्यवस्थाले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्न सहयोग पुग्ने उनले बताइन् ।
अधिकारीले ६५ भन्दा बढी जिल्लामा हुलाकमार्फत राहदानी घरमै पुर्याउने व्यवस्था गरेकोमा सरकारलाई धन्यवादसमेत दिइन् । विदेशमा रहेका नेपालीका लागि छिटो सेवा उपलब्ध गराउन छिमेकी भारतलगायतका मुलुकमा सहज रूपमा राहदानी आवेदन दिने व्यवस्था मिलाउन र शुल्कमा छुट दिन उनले माग गरिन् ।
राष्ट्रिय परिचयपत्रमा राहदानीका लागि आवश्यक अधिकांश विवरण समावेश हुने भएकाले स्थानीय तहबाटै राहदानी बनाउने व्यवस्था गर्नुपर्ने उनको माग थियो । यसो गर्दा नागरिकले राहदानीका लागि अनावश्यक रूपमा जिल्ला वा केन्द्र धाउनुपर्ने अवस्था अन्त्य हुने विश्वास अधिकारीको छ ।
नेपालमै रहेको सुरक्षा मुद्रणालयलाई आवश्यक जनशक्ति र प्रविधि उपलब्ध गराएर स्वदेशमै राहदानी छपाइको व्यवस्था गर्नुपर्नेमा पनि अधिकारीले जोड दिइन् ।
‘राहदानी सजिलो बनाउनु भनेको नागरिकको भरोसा जित्नु हो’ भन्दै उनले राहदानीसम्बन्धी सेवा र व्यवस्थालाई थप सरल, सुरक्षित र नागरिकमैत्री बनाउनुपर्ने बताइन् ।




प्रतिक्रिया