तस्बिरमा अर्जेन्टिनासँग लियोनल मेस्सीका ऐतिहासिक क्षण

तस्बिरमा अर्जेन्टिनासँग लियोनल मेस्सीका ऐतिहासिक क्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीको २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियर अन्तिम चरणमा पुगेको छ।

मंगलबार अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित प्रतिष्ठित मोनुमेन्टल रंगशालामा बेनिनविरुद्धको मैत्रीपूर्ण खेल मेस्सीका लागि राष्ट्रिय टोलीबाट २०८औँ तथा अन्तिम भएको छ।

३९ वर्षीय मेस्सीको विदाइका क्रममा अर्जेन्टिनामा भावुक क्षणसँगै भव्य समारोह आयोजना गरिएको छ।

जहाँ उनका हजारौं समर्थकले उठेर मेस्सीको स्वागत गरे। मैदान मेस्सीमय भएको छ।

सन् २००५ देखि २०२६ सम्म अर्जेन्टिनाको जर्सीमा उनले हासिल गरेका महत्वपूर्ण र अविस्मरणीय क्षण यस्ता छन्।

२००० को दशक

हंगेरीविरुद्धको डेब्युमै रातो कार्ड

सन् २००५ को अगस्टमा १८ वर्षीय मेस्सीले हंगेरीविरुद्ध अर्जेन्टिनाबाट सिनियर टोलीमा डेब्यु गरे। तर उनको पहिलो खेल सुखद रहेन।

खेलको ६३औँ मिनेटमा मैदान प्रवेश गरेका मेस्सी दुई मिनेटमै रातो कार्ड पाएर बाहिरिनुपर्‍यो।

हंगेरीका डिफेन्डर विल्मोस भान्जाकसँग बलका लागि भएको संघर्षमा कुहिनो प्रहार गरेको भन्दै जर्मन रेफ्री मार्कस मर्कले उनलाई मैदानबाट बाहिर पठाएका थिए।

त्यो निर्णयलाई बीबीसीका दक्षिण अमेरिकी फुटबल विज्ञ टिम विकेरीले ‘फुटबलविरुद्धको अपराध’ भन्दै आलोचना गरेका थिए।

सन् २००६ : पहिलो विश्वकप गोल

१९ वर्ष पुग्नुअघि नै मेस्सीले विश्वकपमा आफ्नो पहिलो गोल गरे।

जर्मनीको गेल्सेनकिर्चेनमा भएको खेलमा अर्जेन्टिनाले सर्बिया एन्ड मोन्टेनेग्रोलाई ६–० ले हराउँदै नकआउट चरणमा स्थान बनाएको थियो। मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।

उनले हर्नान क्रेस्पोका लागि चौथो गोलको अवसर सिर्जना गरेपछि आफैँ छैटौँ गोल गरेका थिए। विश्वकपमा उनको यो पहिलो गोल थियो।

सन् २००७ : मेक्सिकोविरुद्ध उत्कृष्ट गोल

२००७ को कोपा अमेरिकाको सेमिफाइनलमा मेक्सिकोविरुद्ध मेस्सीले गरेको गोल उनको उदयको महत्वपूर्ण क्षणमध्ये एक बन्यो।

१८ यार्ड बक्सको छेउबाट उनले मेक्सिकोका गोलरक्षक ओस्वाल्डो सान्चेजलाई छक्याउँदै बललाई जाली चुमाएका थिए। अर्जेन्टिनाका अनुभवी खेलाडी जुआन सेबास्टियन भेरोनसमेत मेस्सीको गोलपछि उत्साहित बनेका थिए।

२०१० को दशक

सन् २०१० : विश्वकपको निराशा

डिएगो म्याराडोनाको प्रशिक्षणमा अर्जेन्टिनाले २०१० को विश्वकपमा मेस्सीबाट ठूलो अपेक्षा राखेको थियो। तर क्वार्टरफाइनलमा जर्मनीसँग अर्जेन्टिना ४–० ले पराजित भयो।

मेस्सीले प्रतियोगिताका पाँच खेलमा गोल गर्न सकेनन्। त्यसबेला उनी बार्सिलोनाबाट च्याम्पियन्स लिग र बालोन डी’ओर जितिसकेका स्टार खेलाडी बनिसकेका थिए।

सन् २०१२ : ब्राजिलविरुद्ध ह्याट्रिक

अमेरिकाको मेटलाइफ रंगशालामा ८० हजारभन्दा बढी दर्शकका अगाडि मेस्सीले ब्राजिलविरुद्ध आफ्नो अन्तर्राष्ट्रिय करियरकै पहिलो ह्याट्रिक गरे।

उनको ह्याट्रिकको मद्दतमा अर्जेन्टिनाले ब्राजिललाई ४–३ ले हराएको थियो। उक्त खेललाई मेस्सी र नेयमारबीचको प्रतिस्पर्धाका रूपमा समेत हेरिएको थियो।

सन् २०१४ : विश्वकप फाइनलमा हार

ब्राजिलमा भएको २०१४ विश्वकपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १-० ले पराजित भयो।

मेस्सीले प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने गोल्डेन बल जिते पनि उनको सबैभन्दा ठूलो सपना पूरा हुन सकेन।

फाइनलपछि उनले विश्वकपको ट्रफीतर्फ हेर्दै भावुक बनेको दृश्य विश्वभर चर्चित भयो।

सन् २०१६ : लगातार दुई कोपामा फाइनलमा हार

२०१४ को विश्वकप फाइनलपछि अर्जेन्टिना लगातार दुई कोपा अमेरिका फाइनलमा पराजित भयो। दुवै पटक चिलीसँग पेनाल्टी सुटआउटमा अर्जेन्टिना हारेको थियो।

२०१६ को कोपा अमेरिका सेन्टेनारियोमा मेस्सीले पाँच गोल गरे। तर फाइनलको पेनाल्टी सुटआउटमा उनले पहिलो पेनाल्टी नै मिस गरे।

त्यसपछि २९ वर्षीय मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्यास घोषणा गर्दै भनेका थिए, ‘मेरो लागि राष्ट्रिय टोलीको यात्रा सकिएको छ। मैले सक्दो सबै गरिसकेको छु। च्याम्पियन बन्न नसक्दा पीडा भएको छ।’

सन् २०१७ : इक्वेडरविरुद्ध ह्याट्रिक

मेस्सीलाई राष्ट्रिय टोलीमा फर्काउन अर्जेन्टिनामा ठूलो अभियान चल्यो। उनी टोलीमा फर्किए र २०१८ विश्वकप छनोटको निर्णायक खेलमा इक्वेडरविरुद्ध शानदार ह्याट्रिक गरे।

उनको ह्याट्रिकको मद्दतमा अर्जेन्टिनाले विश्वकपमा स्थान सुरक्षित गर्‍यो। यही नतिजाका कारण चिली भने विश्वकपमा छनोट हुन सकेन।

सन् २०१८ : आइसल्यान्डविरुद्ध असफल

रुस विश्वकपमा अर्जेन्टिनाले आइसल्यान्डविरुद्ध १–१ को बराबरी खेल्यो। खेलमा मेस्सीको पेनाल्टी आइसल्यान्डका गोलरक्षक हानेस थोर हाल्डोर्सनले बचाएका थिए।

त्यस प्रतियोगितामा नाइजेरियाविरुद्ध मेस्सीले गोल गरे पनि अर्जेन्टिनाको यात्रा अन्ततः फ्रान्ससँगको पराजयसँगै टुंगियो।

सन् २०१८ : फ्रान्ससँग पराजय

विश्वकपको अन्तिम १६ को खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गर्‍यो।

त्यो खेलमा तत्कालीन १९ वर्षीय किलियन एम्बाप्पेले दुई गोल गरे। मेस्सीले भने विश्वकपको नकआउट चरणमा अझै गोल गर्न सकेका थिएनन्। उक्त खेललाई मेस्सीबाट एम्बाप्पे पुस्तामा नेतृत्व हस्तान्तरणको संकेतका रूपमा समेत हेरियो।

२०२० को दशक

सन् २०२१ : कोपा अमेरिकाको उपाधि

३४ वर्षको उमेरमा मेस्सीले अन्ततः अर्जेन्टिनासँग पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जिते।

ब्राजिलको माराकाना रंगशालामा भएको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराउँदै कोपा अमेरिका जित्यो। मेस्सी प्रतियोगितामा चार गोलसहित संयुक्त सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी बने।

सन् २०२२ : नेदरल्यान्ड्सविरुद्धको चर्चित खेल

कतार विश्वकपमा साउदी अरेबियासँग अप्रत्याशित रूपमा पराजित भएपछि अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो।

क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्धको खेल निकै तनावपूर्ण बन्यो। पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएपछि मेस्सीले नेदरल्यान्ड्सका स्ट्राइकर वाउट वेघोर्स्टतर्फ हेर्दै ‘के हेर्दैछौ, मूर्ख?’ भनेको दृश्य चर्चित बन्यो।

सन् २०२२ : विश्वकप उपाधि

कतारमा भएको विश्वकपको फाइनल मेस्सीको करियरकै सबैभन्दा ठूलो क्षण बन्यो।

अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकप जित्यो। निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा सकिएको थियो। मेस्सीले दुई गोल गरे।

३५ वर्षको उमेरमा विश्वकपको उपाधि जित्दै मेस्सीले आफ्नो सबैभन्दा ठूलो सपना पूरा गरे। उनी दुई पटक विश्वकप गोल्डेन बल जित्ने पहिलो खेलाडीसमेत बने।

अर्जेन्टिनाको विश्वकप जितको खुसीमा ब्युनस आयर्सका सडकमा करिब ४० लाख मानिस उत्रिएका थिए। विश्वभरबाट करिब १.५ अर्ब दर्शकले फाइनल हेरेको बताइएको थियो।

सन् २०२४ : लगातार दोस्रो कोपा उपाधि

वर्षौंसम्म फाइनलमा निराश बनेको अर्जेन्टिनाले मेस्सीको करियरको अन्तिम चरणमा लगातार उपाधि जित्न थाल्यो।

अर्जेन्टिनाले २०२२ मा इटालीलाई ३–० ले हराउँदै फिनालिसिमा जितेको थियो। त्यसपछि २०२४ को कोपा अमेरिका फाइनलमा कोलम्बियालाई हराउँदै उपाधि रक्षा गर्‍यो।

अमेरिकाको मियामीमा भएको फाइनल मेस्सीका लागि विशेष थियो, किनकि मियामी नै उनको क्लब करियरको पछिल्लो गन्तव्य बनेको थियो।

सन् २०२६ : अल्जेरियाविरुद्ध ह्याट्रिक

२०२६ विश्वकपमा ३९ वर्षतर्फ अघि बढिरहेका मेस्सीले आफ्नो उमेरलाई चुनौती दिँदै उत्कृष्ट प्रदर्शन गरे।

जन्मदिनभन्दा केही दिनअघि उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गरे। यससँगै उनको प्रदर्शनले उमेरका कारण उनी कमजोर भइसकेको भन्ने चर्चा गलत साबित गरिदियो।

मेस्सीले केप भर्डे, इजिप्ट र इंग्ल्यान्डविरुद्ध पनि प्रभावशाली प्रदर्शन गर्दै अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याए।

सन् २०२६ : विश्वकपसँगै अन्तर्राष्ट्रिय करियरको अन्त्य

२०२६ को विश्वकपमा मेस्सीले आठ गोल गरे। २०२२ को प्रदर्शनभन्दा पनि प्रभावशाली देखिएका उनी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप फाइनलसम्म पुर्‍याउन सफल भए।

तर फाइनलमा स्पेनसँग अतिरिक्त समयमा पराजित भएपछि उनको छैटौँ तथा अन्तिम विश्वकपको यात्रा उपाधिविहीन रूपमा टुंगियो।

मेटलाइफ रंगशालामा फाइनलको अन्तिम सिटीसँगै मेस्सी भावुक बनेर रोएका थिए।

विश्वकपपछि उनले अर्जेन्टिनाका लागि आफ्नो अन्तर्राष्ट्रिय करियर समाप्त गर्ने घोषणा गरे। मंगलबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अर्जेन्टिनाको जर्सीमा उनको २१ वर्ष लामो यात्रा औपचारिक रूपमा अन्त्य हुनेछ।

मेस्सीले अर्जेन्टिनाका लागि २०८ खेल खेल्दै विश्व फुटबलकै सबैभन्दा लामो र प्रभावशाली अन्तर्राष्ट्रिय यात्रामध्ये एक पूरा गरेका छन्।