अर्थतन्त्रले समृद्धि दिन सक्छ तर लेखक,कथाकारहरूले भित्री जीवन : सञ्चारमन्त्री तिमिल्सिना

अर्थतन्त्रले समृद्धि दिन सक्छ तर लेखक,कथाकारहरूले भित्री जीवन : सञ्चारमन्त्री तिमिल्सिना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधि, कृत्रिम बौद्धिकता र एल्गोरिदम द्वारा निर्देशित वर्तमान विश्वमा आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताएको छ ।

आज आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप’ मा उनले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको बताए।

एल्गोरिदम, डेटा र तीव्र गतिले आकार दिइरहेको विश्वमा मानिसहरू अझै किन कविता लेख्छन् ? किन कथा सुनाइरहन्छन् ? किनकि साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम हो उनले भने ।

यस वर्षको महोत्सवको विषयवस्तु सान्दर्भिक रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेका बताए।

उनले कविता, उपन्यास र अनुवादको भूमिकाबारे चर्चा गर्दै लेखकहरूले केवल पाठ सिर्जना मात्र नगरी मानवतालाई जोगाइरहेको बताए ।

आफूले झण्डै एक दशक नेपाली साहित्य र सङ्गीतमा केन्द्रित रेडियो कार्यक्रम सञ्चालन गरेको अनुभव सुनाउँदै साहित्य र सङ्गीतले राजनीति, भूगोल र सामाजिक विभाजनले नपुग्ने ठाउँसम्म सम्बन्ध विस्तार गर्नसक्ने बताए ।

मुलुकको सांस्कृतिक विविधता र भाषिक सम्पदाबारे चर्चा गर्दै उनले नेपालमा १२० भन्दा बढी भाषा बोलिने र हरेक भाषाको आफ्नै विशिष्टता रहेको उल्लेख गरे । आधुनिक सञ्चार प्रणाली र सामाजिक सञ्जालको विकास हुनुअघि पनि कथा वाचन, लोकगीत र मौखिक परम्पराले समाजलाई जोडेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले साहित्य मानव सभ्यताको विकाससँगै निरन्तर परिस्कृत हुँदै आएको बताए।

आफ्नो साहित्यिक यात्राबारे चर्चा गर्दै उनले सन् २००६ मा नेपाली गजलसङ्ग्रह प्रकाशन गरेको सुनाए । कविताले तथ्याङ्क, नीति र औपचारिक भाषणले व्यक्त गर्न नसक्ने सत्यलाई अभिव्यक्त गर्न सक्ने उनले भनाइ थियो ।

नेपाली साहित्यिक परम्पराबारे चर्चा गर्दै आदिकवि भानुभक्त आचार्यदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटासम्मका स्रष्टाले स्थानीय यथार्थलाई सार्वभौमिक मानवीय चिन्तनसँग जोडेको बताए । वर्तमान पुस्ताका लेखक, पत्रकार, अनुवादक र सर्जकहरूले पनि यही परम्परालाई नयाँ चुनौतीसँग जोड्दै अगाडि बढाइरहेका उनले बताए।

सञ्चारमन्त्री तिमिल्सिनाले समाज निर्माणमा पूर्वाधार, संस्था र अर्थतन्त्र जतिकै कल्पना, भाषा, संस्कृति र स्मृतिको पनि महत्त्वपूर्ण भूमिका हुने बताए ।

सरकारले पूर्वाधार निर्माण गर्न सक्छ । संस्थाले प्रणाली बनाउन सक्छ । अर्थतन्त्रले समृद्धि दिन सक्छ तर लेखक, कलाकार, कवि र कथाकारहरूले राष्ट्रको भित्री जीवन निर्माण गर्छन् उनले भने।