लिउ जियानचाओ हुनसक्छन् चिनका नयां विदेशमन्त्री, को हुन उनि ?


एजेन्सी-  चीनमा लिउ जियानचाओलाई विदेशमन्त्री बनाउने सम्भावना बढेको छ । चिनियां कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभाग प्रमुख रहेका लिउलाई विदेशमन्त्री बनाउने सम्भावना रहेको स्रोतको दावी छ । अहिले विदेशमन्त्री रहेका वाङ यी पार्टीको परराष्ट्र मामिला हेर्ने सबैभन्दा माथिल्लो निकायको प्रमुखमा नियुक्त भइसकेका छन् । तर, गत वर्ष मात्र नियुक्त भएका विदेशमन्त्री चिन गांङको आकस्मिक विदाईपछि फेरी उक्त जिम्मेवारी वाङले नै सम्हाल्दै आएका छन् ।

उनको नियुक्ती केही समयका लागि मात्र भएको जानकारहरु बताउंछन् । चिनियां राष्ट्रपति सी जिनपिङको अन्र्तराष्ट्रिय आर्थिक नीतिका कडा समर्थक समेत रहेका लिउलाई नै उक्त जिम्मेवारी दिने तयारी रहेको धेरै अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले समेत जनाएका छन् ।

उनि यसअघि चिनियां राष्ट्रपति सीले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानमा समेत सक्रिय थिए । लिउ अनुशासन आयोगमा रहेर अपरेशन फक्स हण्टको नेतृत्वदायी भुमिकामा समेत थिए । केन्द्रीय परराष्ट्र मामिला आयोग र विदेशमन्त्रालयमा विभिन्न जिम्मेवारी सम्हालेका लिउ सन् २०२२ जुनमा पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका थिए ।

उनि विदेश विभागको प्रमुखमा नियुक्त भएलगत्तै १० जुलाई २०२२ मा नेपाल भ्रमणमा काठमाण्डु आएका थिए । संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएलगत्तै उनि चार दिने नेपाल भ्रमणमा आएका थिए ।

चीनले उनलाई गत हप्ता मात्र अमेरिका भ्रमणमा पठाएको थियो । जहां उनले ‘ट्रयाक १.५ डाइलग’मा सहभागि हुनुका साथै उच्चपदस्थ अमेरिकी अधिकारीहरुसंग समेत दुई देशका महत्वपूर्ण मुद्दामा छलफल गरेका थिए ।

लिउ चीनको विदेशमन्त्री नभएपनि अहिले उनले छाया विदेशमन्त्रीका रुपमा काम गरिरहेका छन् । वासिङटन भ्रमणका क्रममा उनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र प्रिन्सिपल डेपूटी नेशनल सेक्युरिटी एडभाइजर जोन फिनरलगायतसंग समेत भेटवार्ता गरेका थिए ।

लिउको अमेरिका भ्रमणपछि धेरैले भावी विदेशमन्त्री रुपमा लिएका छन् । लण्डनको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका लिउ चीनका लागि फिलिपिन्स र इण्डोनेसियाको राजदूत समेत थिए । चिनियां विदेशमन्त्रालयमा लामो समय काम गरेका उनि अनुभवी कूटनीतिज्ञ मानिन्छन् ।

यसअघिका विदेशमन्त्री गांङमाथिको छानविनले पूर्णता पाएसंगै उनको नियुक्ती हुने सम्भावना रहेको चिनियां स्रोत बताउंछ । नभए उनलाई आगामी मार्चमा हुन लागेको राष्ट्रिय जनकांग्रेसको वार्षिक सम्मेलनको अर्को सत्रमा नियुक्त गर्ने सम्भावना छ ।

लिउको विश्व मंचमा देखिएको सक्रिय भूमिकाबाट उनलाई चीनको विदेशमन्त्री देख्न पाइने सम्भावना बढेर गएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement