लोडसेडिङ अन्त्य घोषणा गर्दा धेरैले पत्याउँदैन थिए :प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा केही रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउने बताएका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ठूला र बहुउद्देश्यीय प्रकृतिका आयोजना अगाडि बढाउने सरकारको सोच रहेको बताएका हुन् ।

दाहालले भने,आगामी दिनमा एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार आठ सय मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानीजस्ता ठूला जलविद्युत् आयोजनाको निर्माण अघि बढाउने सोच र योजना साथ सरकार अघि बढिरहेको अवस्था तपाईहरू सामु उजागर गर्न पाउँदा मलाई विशेष हर्ष र गर्वको अनुभूति भएको छ ।”

बिजुली निर्यातका लागिसमेत स्पष्ट लक्ष्यसाथ सरकार अघि बढिरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले नेपालको जलविद्युत् विकासका लागि योगदान पु¥याइरहेको निजी क्षेत्रको उत्पादित विद्युत्समेत खरिद गरिरहेको प्राधिकरणले आफैँ वा आफ्ना सहायक कम्पनीमार्फत आगामी दिनमा विद्युत् उत्पादन क्षेत्रमा सशक्त र अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले विगतको ‘लोडसेडिङ’को स्मरण गर्दै त्यसको समाधानका लागि गरिएको प्रयासका बारेमा जानकारी दिए । “प्राधिकरणको ३८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्न यस रोष्टममा आउँदै गर्दा मैले २०७३ को साउनमा म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशले बर्सातको समयमा पनि बेहोरिरहेको लोडसेडिङको कहालीलाग्दो अवस्थालाई सम्झिरहेको छु”, प्रधानमन्त्रीले भने। त्यसबेला बिजुलीको पहुँच भएको ठाउँमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो भने देशका करिब ४० प्रतिशत जनता त विद्युत्को पहुँचभन्दा बाहिर रहेको तथ्य स्मरण गरे ।

“लोडसेडिङका कारण उद्योग व्यवसायको अवस्था दयनीय थियो । नागरिकको दैनिकी नराम्ररी प्रभावित थियो । प्राधिकरणको वित्तीय अवस्था अत्यन्तै नाजुक थियो”, प्रधानमन्त्रीले भने, “त्यस बेला मैले तीन महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई पत्याउँदैनथे, मजाकको विषय बनाएका थिए ।”

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपश्चात् हाम्रो सङ्कल्प, इमानदारिता र मेहेनतका कारण हामीले १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, “मैले सरकारको नेतृत्व गर्दा ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्वका निर्णय भएका छन् भने देश र जनताको हितमा धेरै काम भएका छन ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement