स्थानीय निर्वाचन : के छ विवेकशील साझा, राप्रपा लगायत साना दलको तयारी ?


काठमाण्डु – स्थानीय तह निर्वाचन आउँन लगभग ३७ दिन बाँकी छ । चुनाव नजिकिएसँगै राजनीतिक दल तीव्र गतिमा तयारीमा जुटेका छन् ।

प्रमुख दलका नेता तथा कार्यकर्ता चुनावी अभियान लिएर गाउँ–गाउँमा पसेका छन् । चुनावी अभियान लिएर घर–घरमा नेता कार्यकर्ता पुग्न थालेपछि गाउँमा माहोल तातेको छ । गाउँ घरमा पार्टीका झण्डा टाँग्न थालेका छन् । पसल तथा होटेलमा कुन पालिकामा अध्यक्ष उपाध्यक्ष र नगरप्रमुख उपप्रमुख, वडाध्यक्षमा को टिकट पाउने भनेर गफ चल्न थालेको छ । चुनावी तालमेल, उम्मेदवार चयन, घोषणापत्र लेखनमा दलहरू व्यस्त छन् ।

विपक्षी पार्टीका नेता तथा कार्यकतालाई आ–आफ्नो पार्टीमा प्रवेश गराउन थालेका छन् । गाउँ–गाउँमा पार्टीका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । यस्तोमा साना दलहरू पनि चुनावको तयारीमा जुटेका छन् । यो पटकको स्थानीय निर्वाचनमा ७९ दलले सहभागी जनाउने भएका छन् ।

तीमध्ये अधिकांशले चुनाव चिन्ह पाइसकेका छन् भने केहीले पक्रिया नपुर्याएका कारण दलगत चुनाव चिन्ह पाएका छैनन् । यद्यपि चुनाव चिन्ह नपाए पनि दलका उम्मेदवारले पनि स्वतन्त्रको हैसियतमा व्यक्तिगत चुनाव चिन्ह पाउने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय राजनीतिमा सक्रिय राप्रपा नेपाल, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा, नेकपा माले, परिवार दललगायतका साना दलहरूले समेत स्थानीय निर्वाचन तयारी तीव्र बनाएका छन् ।

यस्ताे छ उनीहरूको तयारी ?

नेपाल मजदुर किसान पार्टी

भक्तपुरलाई केन्द्र बनाएर राजनीति गरिरहेको नेमकिपाकाे भक्तपुर, काभ्रे, काठमाण्डु, रुपन्देहीलगायत केही जिल्लामा बलियो पकड छ । तिनै स्थानमा केन्द्रीत रहेर उम्मेदवारी घोषणा गर्ने नेमकिपाले तयारी गरेकाे छ । २०७४ को स्थानीय निर्वाचनमा नेमकिपाले १ मेयर, एक उपमेयर र २२ वडाध्यक्ष जितेको थियो । नेमकिपाको चुनाव चिन्ह मादल हो ।

राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह हो गिलास । यो पार्टी बागलुङ, पर्वत, पोखरा, डोटीमा बलियो मानिन्छ । गिलास चुनाव चिन्ह लिएर देशका कुन–कुन ठाउँमा उम्मेदवारी दिने भन्नेबारे पार्टीभित्र छलफल भइरहेको अध्यक्ष चित्रबहादुर केसीले बताए ।

उनले आफ्नो पार्टीको पकड बलियो भएको स्थानमा नै बढी केन्द्रीत रहने र काठमाण्डु, चितवनजस्ता प्रमुख सहरमा पनि उम्मेदवारी दिनेबारे पार्टीमा छलफल भइरहेको बताए । २०७४ को स्थानीय निर्वाचनमा जनमोर्चाले ३ मेयर, ४ उपमेयर र ३३ वडाध्यक्ष जित्न सफल भएको थियो ।

विवेकशील साझा

२०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन विवेकशील पार्टी र साझा पार्टीका उम्मेदवारले काठमाण्डु, पोखराजस्ता सहरमा अप्रत्यासित मत ल्याएका थिए । पछि दुवै पार्टीले एकीकरण गरेर ‘विवेकशील साझा’ नाम राखे । उक्त पार्टी अहिले रविन्द्र मिश्र पक्ष र मिलन पाण्डे समूहको विवादमा फसेको छ ।

रविन्द्र मिश्रले २०७९ को स्थानीय तह निर्वाचनमा पार्टीबाहिरका योग्य व्यक्तिलाई समेत तराजु चिह्नबाट प्रतिस्पर्धा गराउने जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन् । त्यसका लागि नेपालभित्र रहेका र विदेशमा रहेका र गाउँमा आएर उम्मेदवार बन्न इच्छुक भए फर्म भर्न आग्रह गरिएको छ ।

यता मिलन पाण्डे पक्षले भने विचार मिल्ने समूहसँग मिलेर स्थानीय निर्वाचनमा जाने तयारी गरेको छ । तराजु चुनाव चिन्ह रविन्द्र मिश्रले दाबी गर्दै आएपछि पाण्डे पक्षले नयाँ समूह र नयाँ चुनाव चिन्ह लिएर स्थानीय निर्वाचनमा जाने बताएको छ ।

राप्रपा नेपाल

राजेन्द्र लिङ्देन पार्टी अध्यक्ष भएपछि असन्तुष्ट भएका नेता कमल थापाले दुई महिनाअघि देखि आफ्नो नेतृत्वमा राप्रपा नेपाल पुनर्गठन अभियान थालेका छन् । थापाले अहिले नेकपा एमालेसँग गठबन्धनका लागि संवाद गरिरहेका छन् ।

तत्कालीन राप्रपाले जितेका स्थानीय तह आफूलाई दिने सर्तमा राप्रपा नेपालले देशभरि एमालेलाई सघाउने प्रस्ताव राखेको छ । थापाको पार्टीले ७७ वटै जिल्लामा जिल्ला कमिटी बनाए पनि ३० वैशाखको स्थानीय तह निर्वाचनमा बलियो उम्मेदवारी दिने सक्ने अवस्था छैन ।

नेकपा संयुक्त

बाम घटक नेकपा संयुक्तले चुनाव चिन्ह पाएको छैन । पार्टीले स्थानीय निर्वाचनकै लागि भनेर त्यस्तो बृहत् तयारी नगरेको अध्यक्ष चन्द्रदेव जोशीले बताए । उनका अनुसार नेकपा संयुक्तका नेताहरू स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् ।

नेकपा माले

बाम घटक नेकपा मालेले यसपालिको स्थानीय निर्वाचनलाई आफ्नो एजेन्डा लैजाने माध्यम बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष सिपी मैनालीले निर्वाचनलाई प्रतिस्पर्धाको रूपमा भन्दा बढी पार्टीको विचार प्रवाह गर्ने माध्यमको रुपमा प्रयोग गर्ने योजना रहेको बताए ।

नेपाल परिवार दल

नेपाल परिवार दलले आगामी तीनै तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेको छ । २०७४ सालको निर्वाचनमा पनि ३ बुँदे सहमति गरेर परिवार दलले एमालेसँग चुनावी सहकार्य गरेको थियो ।

पार्टी अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्भावित चुनावी तालमेलका विषयमा केही दिनअधि छलफल गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement