लकडाउनमा पशुपक्षी भोकभोकै

लकडाउनमा पशुपक्षी भोकभोकै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- लकडाउनमा यतिबेला अधिकांश मानिस आफ्नो परिवारका साथ घरभित्रै छन् । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न घर बस्दा विभिन्न परिकार बनाउने, खाने अनि रमाउने गरेको देखिन्छ । मानिस घरभित्र बसेपछि मानिसका सबै क्रियाकलाप घरमै सीमित बनेका छन् ।

बाहिर वातावरणमा हुने गतिविधि ठप्प छ । मठ मन्दिरमा पूजा बन्द छ । बजार, पसल, होटल रेस्टुरेन्ट बन्द छन्, जसका कारण परेवाले चारा खान पाएका छैनन् । कतिपयले आफ्नै घरमा भएका कुकुर बिरालालाई कोरोना सर्ने भयले थुनेर राखेका छन् ।

होटलले फ्याँकेका खानाको भरमा रहेका कुकुर, बिराला पनि भोकै छन् । पशुपति र स्वयम्भूका अनगिन्ती बाँदरको हुल भोकले घरि कता, घरि कता आँखा लगाउँदै मानिसको प्रतीक्षा गरिरहेका छन् । आकाशमा उड्ने चरा पनि मानवको गतिविधि ठप्प हुँदा सशङ्कित छन् ।

काठमाडौँ महानगरपालिका १० का बासिन्दा सहन शर्मा– मानिस त बोल्न सक्छन् । पीडा पर्दा आफ्ना कुरा भन्न सक्छन् । भोक लागे मागेरै खान सक्छन् तर नबोल्ने पशुपक्षी र प्राणी यतिबेला अन्योलमा छन् । सधैँ भीडभाड हुने सडक सुनसान छन् । कुकुरका हुल खानाको खोजीमा भौँतारिरहेका छन् भन्नुहुन्छ ।

प्राणी अधिकारकर्मी बिना पन्तले पृथ्वीको सृष्टि मानिसका लागि मात्र भएको होइन । सम्पूर्ण प्राणी जगत्को साझा घर पृथ्वी हो । पृथ्वीमा जति मानिसको जिउने अधिकार हुन्छ त्यति नै अन्य पशुपक्षी र जीवजन्तुको पनि हुन्छ भन्नुभयो । त्यसैले मानिसले लकडाउनमा आफ्नो र आफ्ना परिवारका बारेमा मात्र होइन अन्य जीवका बारेमा पनि सोच्न उहाँले आग्रह गर्नुभयो ।

अरू मानिस घरभित्रै बसिरहँदा उहाँ आफ्ना सहयोगीका साथ सडकमा अलपत्र परेका कुकुर, बिराला, बाँदर, परेवाका लागि चारा बाँड्दै हिँड्नुभएको छ ।लकडाउनमा पशुपक्षी भोकभोकै