लकडाउन घट्यो, कोरोना बढ्यो


काठमाडौं – झन्डै ८४ दिन कोठामा बसेर लकडाउनको पालना गरेकी आश्मा बम दुविधामा छन्। कोठाबाहिर निस्केर सक्रिय जीवन जीउन चाहन्छिन् उनी। आश्मा भन्छिन्, ‘योजना बनाएकी छु। निर्णय लिन गाह्रो भइरहेको छ। यसो गरुँ कि उसो गरुँ भइरहेको छ।’

उद्यमी बमलाई झैं धेरैलाई अहिले अन्योलको भूमरीमा पार्ने काम कोरोना भाइरसले गरेको छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोराना भाइरसको संक्रमण नेपालमा पनि बढेको छ। मुलुकका ७३ जिल्लामा संक्रमण फैलिएको छ। कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न सरकारले गत चैत ११ गते मुलुकभर लकडाउन घोषणा गरेको थियो। यस अवधिमा कोरोना भाइरसको संक्रमण घट्नु साटो झन् झन् बढ्यो। जेठ ३ गते नेपालमा पहिलो कोरोना संक्रमितको मृत्यु भएको थियो।

अहिलेसम्म मुलुकभित्र १९ जनाको कोरोना भाइरसबाट ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार, विदेशमा रहेका १ सय २७ जना नेपालीको मृत्यु भएको छ। बेलायत, अमेरिका, युएई, साउदी अरेबिया, कुबेत, कतार, जापान, टर्की लगायत १३ वटा मुलुकमा रहेका नेपालीको मृत्यु भइसकेको छ।

चैत ११ गते घोषित लकडाउनमा सहजीकरण गर्ने सरकारी निर्णयसँगै निर्वाधरूपमा राजधानी भित्रनेको संख्या बढेको छ। संक्रमितको संख्या दिनानुदिन बढेका बेला लकडाउनलाई कडाई गर्नुपर्नेमा झन् खुकुलो बनाउँदा जोखिम चुलिएको विज्ञको भनाइ छ। कोरोनाका नयाँ संक्रमित दैनिक तीन सयको हाराहारीमा वृद्धि भइरहेको बेला आइतबार ४ सय २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बाहिरी जिल्लाबाट यात्रा गरेर आउने व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छैन। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार, एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा कोरोना भाइरसको परीक्षण गरेर आउनु पर्दैन। मन्त्रालयको निर्देशिकामा उल्लेख गरिएको व्यवस्थाबाहेक कोही कसैको पनि परीक्षण नगर्न÷नगराउन स्वास्थ्य संस्था, प्रयोगशाला र सरोकारवाला निकायमा अनुरोध गरिएको उनले बताए। ‘कुनै पनि व्यक्ति यात्रा गरेर आउँदा संक्रमित हुने जोखिम रहन्छ।

जहिले पायो त्यहीले। जसलाई पायो त्यसलाई परीक्षण गर्दा स्रोत साधनको दुरुपयोग हुने र प्राविधिक पक्षबाट जुन समयमा भाइरस पहिचान हुन्छ। त्यो समय पारेर मात्र परीक्षण गर्नुपर्ने हुन्छ।’ उनले भने। यद्यपि, अत्यावश्यक नभई यात्रा नगर्न र घरबाहिर जानै पर्ने भए व्यक्तिगत सुरक्षाका उपाय अपनाउन र सावधान अपनाउन उनी आग्रह गर्छन्।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement