काठमाण्डु – संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।
भेटमा राजदूत थापाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सिद्धान्तनिष्ठ नेतृत्व, बहुपक्षवादप्रतिको दृढ प्रतिबद्धता, र कोही पनि पछि नपरून् भन्ने संकल्पको प्रशंसा गरेका छन्।
नेपालमा हालै गएको बाढी र प्राकृतिक विपद्पछि संयुक्त राष्ट्रसंघीय संयन्त्रले पुर्याएको सहयोगका लागि नेपाल सरकारका तर्फबाट उनले आभार व्यक्त गरे। राजदूत थापाले संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तहरू तथा साझा वैश्विक चुनौतीहरू समाधान गर्न नेपालको पूर्ण प्रतिबद्धता दोहोर्याए ।
त्यसअवसरमा महासचिव गुटेरेसले नेपालमा हालैको प्राकृतिक विपद्बाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए। उनले बहुपक्षीय सहकार्यलाई अगाडि बढाउन नेपालले खेलेको सक्रिय र रचनात्मक भूमिकाको उच्च प्रशंसा गरे।
महासचिवले आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षता, अति कम विकसित मुलुकहरूको नेतृत्व, विकासका लागि वित्तपोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको सहजीकरण, र पहिलो समितिको अध्यक्षतालगायत महत्वपूर्ण विश्वव्यापी प्रक्रियाहरूमा नेपालको नेतृत्वदायी भूमिकाको सराहना गरे।
उनले राष्ट्रसंघीय शान्ति सेनामा योगदान पुर्याउने प्रमुख देशका रूपमा नेपालको लामो योगदान र जलवायु परिवर्तनका विरुद्ध नेपालले गर्दै आएको निरन्तर वकालतको पनि प्रसंशा गरे ।
तीन वर्षअघि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमण गरेको स्मरण गर्दै महासचिव गुटेरेसले हिमालय क्षेत्रमा परेको जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै महत्वाकांक्षी जलवायु कार्यको तत्काल आवश्यकता रहेको बताएका थिए।
भेटवार्ताका क्रममा राजदूत थापा र महासचिव गुटेरेस दुवैले पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने, जलवायुजन्य विपद् उत्थानशीलता अभिवृद्धि गर्ने र विश्वव्यापी जलवायु कार्यलाई अगाडि बढाउन अन्तर्राष्ट्रिय एकता तथा सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिए।


प्रतिक्रिया