लोकतन्त्र सुदृढीकरणका लागि विपक्षीको भूमिका महत्वपूर्ण हुन्छ– सभापति देउवा


काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको सुदृढिकरणका लागि विपक्षी दलको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि काँग्रेसद्वारा आज यहाँ आयोजित अभिमुखिकरण कार्यक्रममा उनले विपक्षमा रहेको बेला पार्टीको भूमिका सरकारमा रहेको भन्दा बढी सबल हुने बताएका हुन् ।

देउवाले विसं २००७ देखि प्रजातन्त्रका लागि लड्दै आएको काँग्रेस यतिखेर संघीय संसद् र प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै “संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढिकरणका लागि अहिले काँग्रेसको काँधमा महत्वपूर्ण चुनौती आएको छ, त्यसको सामना गर्न एकतावद्ध भएर र अध्ययनशील हुन आवश्यक छ,” उनले भने ।

“संसद्मा विपक्षीले कस्तो मुद्दा उठाए भनेर जनताले हेरिरहेका हुन्छन, त्यसैले अध्ययन गरेर तर्कका साथ प्रस्तुत हुनुहोला, त्यसैका आधारमा आगामी निर्वाचनमा जनमत बन्ने हो ।” उनले भने ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा जनताका मुद्दा कसरी उठाउने त्यसका लागि अध्ययनको आवश्यकतापर्ने भन्दै विरोधका लागि विरोध नभइ तर्कका आधारमा जनसावलका मुद्दा उठाउन आग्रह गरे ।

संसद् तथा प्रदेशसभाका प्रक्रियामा प्रभावकारी रुपमा प्रस्तुत हुन आग्रह गर्दै उनले भने “लोकतन्त्र मजवुत बनाउन प्रतिपक्ष दल जिम्मेवार हुनुपर्छ ।” काँग्रेस महामन्त्री डा शशांक कोइरालाले संसद्मा प्रतिपक्ष दलको भूमिका महत्वपूर्ण हुने बताउँदै गुण र दोषका आधारमा मुद्दा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघीय संसद् र प्रदेशसभाका काँग्रेसका १८९ सदस्य सहभागी हुनुहुन्छ । एक दिने सो अभिमुखीकरण कार्यक्रममा पार्टीका नेताहरु विमलेन्द्र निधि, डा रामशरण महत, डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल र पूर्व सचिव ठाकुरप्रसाद बरालले प्रशिक्षण दिने कार्याक्रम रहेको छ । ।

प्रतिक्रिया दिनुहोस
Advertisement