लोकसेवा आयोगले सबै नयाँ विज्ञापन रोक्यो, खरिदारको आवेदन ९ गतेबाट बन्द


काठमाडौं – लोकसेवा आयोगले कुनै पनि नयाँ पदपूर्तिको विज्ञापन तत्काल नगर्ने निर्णय गरेको छ । सरकारबाट अर्को निर्णय नआएसम्मका लागि स्वीकृत वार्षिक कार्यतालिकाका विज्ञापनसमेत रोक्ने निर्णय आयोगको सोमबारको बैठकले गरेको हो ।

यस्तै, लिखित परीक्षा भइसकेका र अन्तर्वार्ताका क्रममा प्रवेश गरेको विज्ञापनको हकमा पनि नयाँ कार्यतालिका निर्धारण गर्ने निर्णय भएको छ । कुनै एक चरणको परीक्षा कार्यक्रम सञ्चालन भएकाको हकमा पनि आयोगले कोरोनाको स्थिति सामान्य भएपछि नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने निर्णय गरेको छ ।

यस्तै, दरखास्त संकलन भएका तर कुनै पनि चरणको परीक्षा नभएका हकमा सरकारले गर्ने निर्णय अनुसार नै अघि बढ्ने आयोगको निर्णय छ ।

यस्तै, गत फागुन २८ गतेबाट संकलन गरिएको खरिदार वा सो सरहको पदका लागि भएका विज्ञापनमा आवेदन दिने समय जेठ ९ गतेबाट बन्द हुने भएको छ । दरखास्त बुझाएका तर दस्तुर बुझाउन बाँकी रहेका आवेदकको हकमा स्थिति सामान्य भएपछि निश्चित अवधि तोकी दस्तुर तिर्न समय दिने आयोगले निर्णय गरेको छ ।

आयोगले वार्षिक कार्यतालिका अनुसार विज्ञापन हुन बाँकी रहेका पदको विज्ञापन स्थगन गर्ने निर्णय गरेको छ । न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाको पदका विज्ञापन स्थिति सामान्य भएपछि नयाँ परीक्षा कार्यक्रम निर्धारण हुनेछ ।

त्यस्तै, सुरक्षा निकाय तथा संगठित संस्थाको कर्मचारी भर्ना प्रक्रियाअन्तर्गत कुनै पनि चरणको परीक्षण सुरु भइसकेको हकमा भने निरन्तरता दिइने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement