लोकसेवाको सबै रिटमाथि सुनुवाई आज : ४ लाखले भरे फाराम, के होला सर्वोच्चको निर्णय ?


काठमाडौं – स्थानीय तहका लागि लोक सेवा आयोगले गरेको ९ हजार १६१ जनाको विज्ञापनका सम्बन्धमा परेका ४ रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदैछ । रिट न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा परेको छ ।

रद्ध हुने या नहुने भन्ने अन्योलमा रहँदै आएको विज्ञापनमा मंगलबारसम्म चार लाख भन्दा बढीले फाराम भरेका छन् ।

लोकसेवा आयोगले गत जेठ १५ गते खुलाएको विज्ञापनको अन्तिम म्याद असार १० अर्थात हिजो मंगलबार राति १२ बजेबाट समाप्त भएको छ । आजबाट भने असार १७ गतेसम्म डबल दस्तुरमा फारम भर्न सकिने आयोगले जनाएको छ ।

नियमित दस्तुर तिरेर आवेदनका लागि दिएको समयावधिभित्र मंगलबार साँझसम्म ३ लाख ६७ हजार ६९७ जनाको आवेदन दर्ता भएको लोकसेवा आयोगले जनाएको छ ।

जसअन्तर्गत खुलातर्फ ३ लाख ६३ हजार १८४, महिलामा ८८ हजार ७६६, जनजातितर्फ ३७ हजार ९८०, मधेसीतर्फ २१ हजार ७९४, दलिततर्फ २ हजार ७१०, अपांगता भएकातर्फ १३१ र पिछडिएका क्षेत्रतर्फ १०१ जनाको आवेदन परेको आयोगले जनाएको छ ।

आवेदनमार्फत ७ करोड ९५ लाख ६६ हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको लोकसेवाले जानकारी दिएको छ ।

आयोगले गरेको विज्ञापन समावेशी नभएको भन्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गरी समावेशिताका आधारमा अर्को विज्ञापन आह्वान गर्न र करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिएको थियो ।

मुद्धा विचाराधीन रहेकाले यसको अन्तिम फैसलाले ४ लाखको संख्यामा आवेदन दिएका आवेदकको भविष्य निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement