कति पटक मलत्याग गर्ने ? यस्तो छ वैज्ञानिकहरूका रोचक निष्कर्ष

कति पटक मलत्याग गर्ने ? यस्तो छ वैज्ञानिकहरूका रोचक निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दैनिक एक पटक चिरा परेको वा सर्लक्क परेको ससेजजस्तो दिसा भएमा त्यसलाई उत्तम मानिन्छ ।

तपाईँ दिनमै तीन पटक दिसा गर्ने किसिमको व्यक्ति हुनुहुन्छ वा शौचालयतर्फको यात्रा विरलै वा कहिलेकाहीँ मात्रै हुने गर्छ? अझ महत्त्वपूर्ण कुरा शौचको प्रवृत्तिले तपाईँको स्वास्थ्यका बारेमा के भन्छ ?

हामीले कति पटक मल त्याग गर्छौँ भन्ने कुरा व्यक्तिअनुसार फरक पर्न सक्छ । प्रत्येक पटक हामीले खाना खाँदा ठूलो आन्द्रा खुम्चिन्छ र खानालाई पाचननलीतर्फ धकेल्छ ।

‘ग्यास्ट्रोकोलिक रिफ्लेक्स’ भनिने यो स्वचालित प्रक्रियाको परिणामस्वरूप उत्पादन हुने होर्मोनहरूका कारणले हामीलाई मल त्याग गर्ने इच्छा हुन्छ, जसलाई दिसा बस्ने सङ्केत वा आग्रहका रूपमा पनि चिनिन्छ ।

हामीमध्ये धेरैले त्यस्तो सङ्केतलाई दबाउन सिकेका छौँ तथापि त्यसको अर्थ दिनको एक पटक वा कम पटक दिसा बस्नु नयाँ मानक बनेको छ भन्ने हो ।

परम्परागत दाबीका अनुसार दिनको एक पटक दिसा बस्नुलाई प्रायः राम्रो स्वास्थ्यको सूचकका रूपमा लिन सकिन्छ । तर विगतमा मलत्यागका सम्बन्धमा के कुरालाई सामान्य मान्ने भन्ने थाहा थिएन ।

एउटा अध्ययनले त प्रत्येक केही सातादेखि महिनौँमा एकपटक दिसा बस्नेदेखि दिनमै २४ पटकसम्म दिसा बस्ने कुरालाई पनि सामान्य मान्न सकिने बताएको थियो ।

बेलयतको राष्ट्रिय स्वास्थ्यसेवा (एनएचएस) र अन्य स्वास्थ्य निकायहरूले दिनमा तीन पटकदेखि हप्तामा तीन पटकसम्म दिसा हुनुलाई सामान्य मानिने बताएका छन् । तर सामान्य र स्वस्थ एउटै कुरा हुन् भन्ने जरुरी छैन । वैज्ञानिकहरूले हामीले कति पटक मल त्याग गर्छौँ भन्ने रहस्य समाधान गरिसकेका हुन सक्लान्, तर त्यसले कति पटक दिसा गर्नुपर्छ भन्ने प्रश्न सुल्झाउँदैन ।

यद्यपि अनुसन्धानकर्ताहरूले व्यक्तिको शौचकार्य र उनीहरूको स्वास्थ्यबीच बलियो अन्तर्सम्बन्ध रहेको बताउने गरेका छन् ।
२०२३ मा संयुक्त राज्य अमेरिकामा गरिएको एउटा अनुसन्धानमा १४,५७३ जना वयस्कहरूको दिसा गर्ने बानीको जाँच गरियो ।

सबैभन्दा धेरै अर्थात् ५०.७ प्रतिशत मानिसहरू सातामा सात पटक दिसा गर्थे र सबैभन्दा सामान्य दिसाको प्रकार ससेज वा सर्पजस्तै चिल्लो र नरम थियो ।

त्यसपछि अनुसन्धानकर्ताहरूले दिसाको प्रवृत्ति र मृत्युदरबीच सम्बन्ध भए नभएको हेर्न सहभागीहरूलाई पाँच वर्षभन्दा बढी समयसम्म पछ्याए । उनीहरूले हप्तामा चार पटक नरम दिसा गर्ने मानिसहरू हप्तामा सात पटक दिसा गर्नेहरूको तुलनामा पाँच वर्षभित्र मर्ने सम्भावना १.७८ गुणा बढी भएको पत्ता लगाए । अनियमित दिसा गर्नेहरू पनि क्यान्सर र हृदयरोगबाट मर्ने सम्भावना क्रमशः २.४२ र २.२७ गुणा बढी रहेको पाइयो ।

कति मात्रामा दिसा हुनु उपयुक्त हो भन्ने प्रश्न पनि अनुसन्धानकर्ताहरूलाई सताइरहने गरेको छ । अमेरिकाको सियाटलस्थित इन्स्टिच्यूट फर सिस्टम्स बायोलजीका माइक्रोबायोलजिस्ट सिअन गिबन्सको नेतृत्मा सन् २०२४ मा एउटा अनुसन्धान भएको थियो ।

त्यस क्रममा १,४०० जना स्वस्थ वयस्क मानिसहरूलाई उनीहरूको दिसा बस्ने बानीका आधारमा कब्जियत भएका (सातामा एकदेखि दुई पटक दिसा बस्ने), सामान्यभन्दा कम (सातामा तीनदेखि छ पटक दिसा बस्ने), उच्च सामान्य (दिनहुँ एकदेखि तीन पटक) र पखाला लाग्ने व्यक्तिहरू गरी चार भागमा विभाजित गरियो ।

त्यसपछि उनीहरूले मल त्याग गर्ने प्रवृत्ति र व्यक्तिको पेटको माइक्रोबायोमबीच सम्बन्ध भए नभएको केलाउने कोसिस गरियो ।
गिबन्सले दिनमा एकदेखि तीन पटकसम्म दिसा बस्नेहरूको पेटमा राम्रो ब्याक्टेरियाको अनुपात कम शौचालय जाने मानिसहरूको तुलनामा अधिक हुने पत्ता लगाए ।

अर्कातर्फ गिबन्सले सातामा तीन पटकभन्दा कम दिसा बस्नेहरूको रगतमा विषाक्त तत्त्व हुने सम्भावना समेत हुने पनि पत्ता लगाए, जसलाई दीर्घकालीन मिर्गौलासम्बन्धी समस्या र अल्जाइमर्ससँग जोडिने गरेको थियो ।

गिबन्स कब्जियतबाट पीडित मानिसले कम मलत्याग गर्ने भएका कारण लामो समयसम्म दिसा पेटमा रहने हुँदा त्यस्ता व्यक्तिको रक्तप्रवाहमा उच्च स्तरमा हानिकारक विषाक्त पदार्थ पैदा हुने कुरामा विश्वास गर्छन् । त्यस क्रममा पेटमा हुने ब्याक्टेरियाहरूले उपल्ब्ध सबै फाइबरहरू खाइदिन्छन् र हितकारी फ्याटी एसिड पैदा गर्छन् ।

तर समस्या कहाँ आउँछ भने फाइबर सकिएपछि ब्याक्टेरियाहरूले प्रोटीनहरू पैदा गर्न थाल्छन् । त्यस्ता प्रोटीनले रक्तप्रवाहमा हानिकारक विषाक्त तत्त्वहरू पैदा गर्छन् । तिनलाई मुटु र मिर्गौलासहितका अङ्गहरूमा क्षति पु¥याउने तत्त्वका रूपमा चिनिन्छ ।

दिसा र स्वास्थ्यको सम्बन्ध

कम दिसा बस्ने मानिसहरू पहिल्यैदेखि कम स्वस्थ पनि हुन सक्छन् ।

पेटको स्वास्थ्य जाँच्ने एउटा तरिका भनेको खानालाई पाचन प्रणालीको यात्रा गर्न कति समय लाग्छ भनेर हेर्नु पनि हो ।

स्वीटकर्नजस्तो चम्किलो’ खानेकुरा खाएर त्यसलाई पेटको अर्कोपट्टि निस्किन कति समय लाग्छ भन्ने हेरेर तपाईँले घरमै सजिलै यसको परीक्षण गर्न सक्नुहुन्छ । सामान्यता धेरै पाचनक्रियामा धेरै समय लागेमा कम दिसा हुन्छ र त्यस्ता मानिसले कब्जियत सामना गर्नुपर्ने हुन सक्छ ।

सन् २०२० मा किङ्स कलेज लन्डनका अनुसन्धानकर्ताहरूले ८६३ जना मानिसलाई खानेकुराको पाचन यात्रा हेर्न नीलो मफिन खान दिए । उक्त अध्ययन अनुवांशिकी तथा पेटको माइक्रोबायोम तथा खानासहितका अन्य कारकहरूले कसरी ब्लड सुगर, चिल्लो पदार्थको स्तर र खाना पच्न लाग्ने समयमा असर पार्छन् भन्ने विषयमा केन्द्रित थियो ।

अध्ययनले पाचन प्रणालीमा खाना अघि बढ्ने कार्य १२ घण्टादेखि कैयौँ दिनसम्म लाग्ने र मानिसअनुसार व्यापक फरक पर्ने देखायो । त्यसका साथै छोटो समयमा खाना पच्ने व्यक्तिले अधिक पटक मलत्याग गर्ने र लामो समय लाग्ने व्यक्तिका तुलनामा उनीहरूको पेटमा स्वस्थकर ब्याक्टेरियाहरू हुने गरेको पाइयो ।

उक्त निष्कर्ष पाचनमा ५८ घण्टा वा अधिक समय लाग्ने र सातामा तीन पटकभन्दा कम पटक दिसा गर्ने व्यक्तिहरूमा अझ स्पष्ट देखियो ।

यी निष्कर्ष वैज्ञानिकहरूद्वारा जानकारी हासिल गरिएका कब्जियत र त्यससँग जोडिएका दीर्घकालीन रोगसँग सम्बन्धित कुराहरूसँग मेल खान्छन् ।

दीर्घकालीन कब्जियत हुने व्यक्ति पाचनका अङ्गसँग जोडिएको क्यान्सरजस्ता समस्याको जोखिममा हुन्छन् । यद्यपि यससम्बन्धमा मिश्रित प्रमाणहरू छन् । अर्को एउटा विश्लेषणले कब्जियत हुने व्यक्तिहरूमा त्यस्तो क्यान्सरको उच्च जोखिम नहुने देखाएको छ ।