चुनावमा सकेसम्म एक्लै भिड्ने, भएन भने एमालेसँग तालमेल गर्ने लोसपाको दाउ

चुनावमा सकेसम्म एक्लै भिड्ने, भएन भने एमालेसँग तालमेल गर्ने लोसपाको दाउ


काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) ले स्थानीय तहको चुनावमा सकेसम्म तालमेल नगर्ने बताएको छ । महन्थ ठाकुर नेतृत्वको लोसपाले अगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सकेसम्म एक्लै जाने र विकल्पको रुपमा नेकपा एमालेसँग तालमेल गर्ने दावी गरेको हो ।

तराई मधेसका जिल्लामा ‘आक्रामक’ रूपमा उपस्थित हुँदै गएको तथा ‘मधेसमा एमाले क्रेज’ बढदै गएको निष्कर्षका साथ लोसपाले प्रमुख प्रतिपक्ष दल एमालेसँग चुनावी गठबन्धन गर्नेबारेमा आन्तरिक छलफल सुरु समेत गरेको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनका बारेमा एमालेसँग औपचारिक छलफल नभए पनि सम्भावना भने नकार्न नसकिने लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले बताए ।

‘स्थानीय तहको चुनावी गठबन्धन आवाश्यक्ता छैन, किनकि गठबन्धन राजनीतिले मुलुकलाई अस्थिरतातर्फ निम्त्याउनेछ । तर, सत्ता गठबन्धन जारी नै रहने हो भने हामीसँग तीनवटा विकल्प रहने छन्,’ झाले भने, ‘पहिलो एक्लै चुनावमा लड्ने, दोस्रो एमालेसँग चुनावी तालमेल गर्ने ।’ गठबन्धन दलहरुले लोसपाको राजनीतिक माग पूरा गरेको खण्डमा मात्र गठबन्धन दलसँग चुनावी तालमेल गर्न सकिने उनले बताए ।

पार्टी विभाजनपछि सांगठानिक सक्रियता र स्थानीय तह निर्वाचन केन्द्रित अभियानका लागि तराई मधेसका जिल्ला डुलिरहेका अध्यक्ष ठाकुर र राजेन्द्र महतोलाई स्थानीय नेता तथा कार्यकर्ताहरूले गठबन्धन गर्नै परेको खण्डमा एमालेसँग गर्नुपर्ने सुझाव दिइरहेको लोसपाका एक नेताले बताए ।

‘पछिल्लो समयमा मधेसका जिल्लाहरूमा एमालेप्रति ‘क्रेज’ बढेको देखिन्छ, पार्टी प्रवेशको लहरले पनि हामीलाई एकपटक सोच्न बाध्य बनाउँदै लगेको छ,’ ठाकुर निकट एक नेताले भने, ‘हिजो मधेस र मधेसी जनताका लागि भनेर खोलिएका मधेस केन्द्रित दल, कांग्रेस, माओवादीमा भन्दा एमालेप्रति क्रेज बढ्दै गएपछि नेता तथा कार्यकर्ताहरूले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराइरहेका छन् ।’

यता नेकपा एमाले पनि स्थानीय तहको निर्वाचनमा लोसपासँग तालमेल गर्न सक्ने देखिएको छ । स्रोतका अनुसार पछिल्लो समय यस विषयमा निश्कर्षमा पुग्नको लागि नेकपा एमाले आन्तिरिक छलफलमा जुटेको छ ।