आजदेखि पूर्ण तौलको सिलिण्डर वितरण गरिने

आजदेखि पूर्ण तौलको सिलिण्डर वितरण गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौलको एलपी ग्यास सिलिण्डर पाइने १४.२ किलोग्रामको भर्ने र साविककै मूल्यमा बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको छ ।

निगमका अनुसार भारतीय आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङको अवस्थामा सुधार आउनुका साथै उपभोक्ताबाट १४.२ केजी ग्यास सिलिन्डरको उच्च माग रहेकाले निगमले पुरानै प्रणालीमा फर्किने निर्णय गरेको हो ।

यसअघि आपूर्ति व्यवस्थापनलाई सहज बनाउन निगमले २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ केजी एलपी ग्यास भरेर वितरण गर्ने व्यवस्था लागू गरेको थियो ।

निगमका अनुसार अब १४.२ किलो ग्यास सिलिन्डरको पूर्ण मूल्य २ हजार ६० रुपैयाँ कायम रहनेछ ।

यद्यपि ७.१ किलोका सिलिन्डर पूर्णरूपमा बजारबाट प्रतिस्थापन नभएसम्म केही समय दुवै प्रकारका सिलिन्डर बिक्रीवितरणमा रहने भएकाले उपभोक्ताले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न निगमले आग्रह गरेको छ ।

निगमले हाल भारतीय आयल कर्पोरेसनबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेकाले आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ ।