एलपी ग्यासको मूल्य १ हजार ८९५ तिरेर बिल लिन उपभोक्तालाई संघको आग्रह


काठमाण्डु – नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर खरिद गर्दा तोकिएकोभन्दा बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ ।

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आज मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले बजारको माग अनुरूप एलपी ग्यासको पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउँदै आएको जनाएका छन् ।

निगमले निर्धारण गरेको उपभोक्ता मूल्यअनुसार बिक्री नभई बढी मूल्य लिई ग्यास बिक्री वितरण भइरहेको भन्ने समाचार तथा जनगुनासो आएकोमा संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘नेपाल आयल निगमद्वारा सबै क्षेत्रको लागि कायम गरिएको ग्यासको उपभोक्ता मूल्य प्रतिसिलिण्डर (१४.२ केजी) को १ हजार ८९५ मात्र तिरी ग्यास खरिद गर्न र अनिवार्य बिल लिन आम उपभोक्तामा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

निर्धारित मूल्यभन्दा बढी मूल्य लिई ग्यास बिक्री वितरण गर्नु गैरकानूनी भएकाले त्यस्तो कार्य नगर्न नगराउनु सम्बन्धित सबैमा पनि संघले जानकारी गराएको छ । कानून विपरीत ग्यास बिक्री गरेको पाइएमा सरोकारवाला निकायमा तत्काल जानकारी गराउन पनि संघले आम उपभोक्तालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement