एलपीएल क्रिकेटमा सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश


धनगढी – कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को समूह ‘डी’को विजेताको रूपमा सत्यवती एकेडेमी कैलालीको सेमिफाइनल प्रवेश गरेको छ ।

यसअघि समूह ‘सी’बाट घोडाघोडी क्रिकेट एकेडेमी, समूह ‘बी’बाट युथ अफ टीकापुर सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

आज सोमबार फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा सत्यवती एकेडेमीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित गर्‍यो ।

सत्यवती एकेडेमीले दिएको १२७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स सेन्टरले १९.१ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनायो ।

एक्सिलेन्स सेन्टरको ब्याटिंगमा अर्जुन घर्तीले सर्वाधिक ३४ रन बनाए भने सचिन लेखकले १९, मनोज यादवले १७ तथा राजकुमार शाहले १३ रन बनाए ।

सत्यवती एकेडेमीको बलिङ्गमा फिर्दोश अन्सारी र तृत राज दासले २/२ विकेट लिए भने अभिषेक कोइराला, सन्तोष कार्की, रञ्जित कुमार र सन्दिप क्षेत्रीले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन बनायो ।

सत्यवतीको लागि कप्तान सन्तोष कार्कीले सर्वाधिक ४८ रन बनाए । ओपनिङ गरेका उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । इमरान शेख र सुजन गौतमले समान २१ रन बनाए ।

क्रिकेट एक्सिलेन्स सेन्टरका अभिनाश बस्यालले २ तथा मनोज यादव, दयानन्द मण्डल र मोन्सन सिंहले १/१ विकेट लिए ।

यसअघि दिनको पहिलो खेलमा लिटल फ्लावर स्कूलले गरुडा नगरपालिकालाई ५७ रनले पराजित गर्‍यो । जीतको बाबजुद समूह ‘सी’को उपविजेता लिटल फ्लावर सेमिफाइनल प्रवेश गर्न असफल रह्यो । ३ वटै खेलमा जीतको साथ समूह ‘सी’को विजेताको रूपमा घोडाघोडी क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेको छ ।

लिटल फ्लावरले दिएको १३० रनको लक्ष्य पछ्याएको गरुडाले १५ ओभरमा ७२ रनमा सबै विकेट गुमायो । गरुडाका डब्लु मलिकले २३ तथा नितेश यादवले २० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले सर्वाधिक ४ विकेट लिए, जुन क्रममा ४ ओभरमा १० रन खर्चिए । विपिन खत्री, दिनेश अधिकारी र सचिन भट्टले २/२ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको लिटल फ्लावर स्कूलले २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनायो ।

लिटल फ्लावरका ओपनर मनिस थापाले अर्धशतकीय योगदान दिने क्रममा ४७ बलमा ४ चौका र १ छक्का मद्दतले ५० रन बनाए । अभिषेक पालले २९, अनिल रावतले १४ तथा बिपिन खत्री र दिनेश अधिकारीले समान ११ रन बनाए । गरुडा नगरपालिकाको बलिङमा रुपेश सिंह, नितेश यादव र डब्लु मलिकले २/२ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार पनि २ खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे कैलाली जिल्ला क्रिकेट क्लब र शुक्लाफाँटा ब्ल्याक बक्सबीच तथा दोस्रो खेल दिउँसो १ बजे शारदा सेकेण्डरी स्कूल र धनगढी क्रिकेट एकेडेमीबीच हुनेछ ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौं संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement