सेनामा सुरु भयो रथी बढुवाको रस्साकस्सी,यी हुन् सेनामा भावी सेनापतिका दावेदार जर्नेल ?


रोशन खड्का,काठमाडौं– नेपाली सेनाका बलाधिकृतरथी हेमन्तराज कुंवर अवकास हुन झण्डै १ महिना बांकी रहंदै सेनामा नयां वन्ने रथीको चर्चा सुरु भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार सेनाका दुई रथीमध्येको शक्तिशाली मानिने बलाधिकृतरथी कुंवर आगामी वैशाख ११ मा उमेर हदका कारण अनिवार्य अवकासमा जांदैछन् । सेनामा रथीको उमेर हद ५८ वर्ष रहेको छ ।  

अवकास हुन् १५ दिन अघि नै विदामा वस्नुपर्ने सैनिक परम्पराअनुसार कुवंर यही चैत २८ मा विदामा बस्ने तयारीमा छन् । कुंवरको ठाउंमा बढुवा हुने रथी भावी प्रधानसेनापतिको लाईनमा रहने भएकाले पनि सेनामा यो विषयलाई निकै महत्वका साथ हेरिएको हो । 

नेपाली सेनामा प्रधानसेनापति पूर्णचन्द्र थापाको गत भदौ २५ प्रधानसेनापतिमा नियुक्तीसंगै यसअघि पनि चार महिनासम्म रथी पदमा बढुवा रोकिएको थियो । थापाले तीन जनालाई वरिष्ठ उपरथीहरुलाई पाखा लगाउंदै अन्तिममा चौथो वरियतामा रहेका तत्कालिन उपरथी शरद गिरीलाई रथीमा बढुवा गरेका थिए । यद्यपी उनि अघि रहेका उपरथीहरुको कैफियत देखिएका कारण गिरीले रथी बढुवा हुने अवसर पाएका हुन् । हाल उनि सेनाको बलाध्यक्षरथी छन् । अव हुने रथी बढुवाको बोर्ड वैठकको अध्यक्षता पनि तिनै गिरीले गर्नेछन् । 

वरियताको आधारमा अहिले रथीको लाईनमा उपरथी गौरव तण्डुल छन् । तर,बढुवाको लागी उनको समयाअवधी छोटो र पछिल्लो समय सम्भाररथी हुंदा विवादमा आएका कारण पनि उनको रथीमा बढुवा हुने सम्भावना निकै कम रहेको सैनिक स्रोत बताउंछ । त्यतिमात्र होईन हालसालै मात्र संसोधन भएको सैनिक ऐनमा रथीमा बढुवा हुन पृतनापतिको कमाण्ड गरेको एक वर्ष हुनुपर्ने नियमले समेत उनको बढुवाको ढोका बन्द गरेको छ । टण्डुलले जम्मा सात महिना मात्र पृतनाको कमाण्ड गरेका छन् । 

केही गरी चमात्कार भयो र तण्डुल रथीमा बढुवा भए त्यसको फाईदा भने उनिपछिका उपरथी प्रभुराम शर्मालाई हुनेछ । किनभने टण्डुल बढुवा भएको अवस्थामा  शर्मा हालका रथी शरद गिरी अवकास भएपछि उनको ठाउंमा तिन तारे जर्नेल बन्नेछन् । त्यसपछि हालका प्रधानसेनापति थापाले २०७८ साल भदौमा अवकास पाइसकेपछि उनको ठाउंमा शर्मालाई प्रधानसेनापति वन्ने बाटो खुल्नेछ। 

टण्डुलको बढुवा हुने सम्भावना लगभग सक्किएकाले शर्मा नै कुंवरको ठाउंमा रथी पदमा बढुवा हुनेछन् । त्यसो हुंदा उपरथी शर्माको हालका प्रधानसेनापति थापाझै रथीमा पदावधी एक वर्ष थप गर्नुपर्ने हुन्छ । यदि केही गरी प्रधानसेनापतिले उनको एक वर्ष पदावधी थप नगरे उनि रथीबाटै अवकास पाउनेछन् । यसरी हेर्दा शर्माको लागी टण्डुल अहिले रथीमा बढुवा हुंदा प्रधानसेनापति वन्ने वाटो लगभग पक्का हुनेछ ।  किनकी टण्डुल रथीमा बढुवा भएको खण्डमा पनि एक वर्ष मात्र रथी वन्न पाउनेछन् । उनले उमेर हदका कारण २०७६ वैशाख १ मै अवकास पाउनेछन् । त्यसो हुंदा शर्मालाई पदावधी थप गर्नुपर्ने बाध्यता हुनेछैन् । 

टण्डुल र शर्मा दुवै रथीबाटै अवकास पाउने अवस्थामा त्यसको प्रत्यक्ष फाईदा उपरथी ईश्वर हमाललाई हुनेछ । किनभने शर्मापछिका उपरथी समिर शाही तिन तारे भएपनि उमेर हदका कारण उनि प्रधानसेनापति थापाभन्दा अघि नै अवकास पाउनेछन् । 

शाहीको हकमा पनि तीन तारे हुन दुई तारेमा नै पदावधी थप्नुपर्ने बाध्यता छ । उनको उपरथीको तीन वर्षे पदावधी २०७७ असारमा सकिंदैछ । शाही रथीमा बढुवाको लागी पनि उनको दुई वर्षे पदावधी थप गर्नुपर्ने हुन्छ । सेनामा पदावधी थप प्रधानसेनापतिको तजविजमा भरपर्ने भएकाले उनको भविष्य पनि थापाकै हातमा रहेको छ । 

किनकी २०७७ असार ६ मा हालका अर्का रथी शरद गिरी उमेर हदका कारण अनिवार्य अवकासमा जानेछन् । उनको ठाउमा उपरथीमा पदावधी थप भए शाही रथीमा बढुवा हुनेछन् । पदावधी थप नभएको अवस्थामा उनि उपरथीबाटै अवकासमा जानेछन् । सेनापति थापाले समयमै विदा लिएर शाहीलाई अघि बढाए उनको पनि सेनापति वन्ने सम्भावना छ । तर, त्यसका लागी थापा र सरकार दुवैले द्रुर्तमार्गबाट नियुक्ती अघि बढाउनुपर्ने हुन्छ । 

हालका बलाधिकृतरथी कुवरको ठाउंमा तत्काल रथीको पदपुर्ती सुरु हुने सम्भावना समेत निकै कम भएको सैनिक वृतमा चर्चा छ । यदी संशोधित सैनिक ऐनलाई तत्काल लागु नगरे र चैत्र महिनाभित्रै तण्डुलको रथीमा बढुवा प्रक्रिया सुरु भए मात्र उनको बढुवाको सम्भावना हुनेछ । किनकी बलाधिकृत कुंवरले वैशाख ११ गते मात्र अवकास पाउनेछन् । यता तण्डुल भने रथीमा बढुवा नभए वैशाख १९ मा अनिवार्य अवकासमा जानेछन् । कुंवरले अवकास पाएपछि मात्र बढुवा प्रक्रिया सुरु भए पांच दिनमा उनको रथीमा बढुवा हुन असम्भव नै छ । 

किनकी सेनामा बढुवाको लागी दावी विरोधको १५ दिने सार्वजनिक सूचना प्रकाशित हुनुपर्ने नियम छ । त्यस हिसावले हेर्दा उनको बढुवा असम्भव भएपनि यदि भावी प्रधानसेनापतिको खेलमा कुनै पात्रलाई अघि ल्याउने खेल भयो भने टण्डुललाई रथीमा बढुवा गर्न सक्ने सम्भावना पनि छ । या त कुंवर विदामा वसेकै अवस्थामा उनको बढुवा प्रक्रिया सुरु भयो भने मात्र उनको बढुवा सम्भव छ । टण्डुलको हकमा यो हुने सम्भावना कम रहेको सैनिक स्रोतको भनाई छ । 

‘तण्डुललाई बढुवा गर्दा अरु कसैलाई फाईदा हुने अवस्थामा मात्र उनको रथीमा बढुवा अघि बढ्छ तर अहिलेकै अवस्थामा भने टण्डुलको बढुवा हुने सम्भावना कम छ ।’ सेनाका एक उपरथीले काठमाडौंपाटीसंग भने । 

टण्डुलको बढुवा नहुने अवस्थामा रथीको लाईनमा हालका युद्धकार्य महानिर्देशक शर्माका साथै पुर्वी पृतनाका पृतनापति समिर शाही हुनेछन् । शाही र शर्मा दुवैले २०३९ साल पौष २ गते नेपाली सेनामा अधिकृत क्याडेटका रुपमा सेवा प्रवेश गरेका हुन् । र उमेरका हिसावले शाहीभन्दा शर्मा एक वर्ष कान्छा छन् । सैनिक रेकर्डमा शाहीको २०१९ साल भदौ ५ गते जन्ममिति उल्लेख छ भने शर्माको २०२० पौष २१ गते उल्लेख छ । 

शाही र शर्मा दुवै जना केही गरी प्रधानसेनापति भएनन् भने त्यसपछिको फाईदा ईश्वर हमाल र राजेन्द्र कार्कीलाई हुनेछ । हमाल र कार्की दुवै २०४० कार्तिक २२ गते सैनिक सेवामा एकै दिन प्रवेश गरेका हुन् । उनिहरुको उमेर पनि जम्मा चार दिनको फरक रहेको छ । कार्की २०२० साल असोज २१ मा जन्मिएका हुन् भने हमाल २०२० असोज २५ मा जन्मिएका हुन् । हमाल नेपाली सेनाभित्र क्षमतावान सैनिक अधिकारीका रुपमा चिनिन्छन् । उनले अधिकांश कोर्स अमेरिकाबाट गरेका छन् । हाल कमाण्ड एण्ड स्टाफ कलेजमा कार्यरत हमालको नाम सेनाले इजलरायलको जेरुसलेममा रहेको युएनको युएनटिएसओ मिसनको फोर्स कमाण्डरको लागी मनोनय समेत गरेको छ । त्यसैगरी कार्कीले पनि चीनबाट एनडिसी कोर्स गरेका छन् । प्रधानसेनापति थापाका नजिकका नातेदार समेत रहेका कार्की हाल निति विभागमा कार्यरत छन् । 

कतियपयले थापाले कार्कीलाई नेतृत्व सुम्पन चाहेको चर्चा गरेपनि त्यो सम्भावना भने निकै कम छ । किनभने तीन जना वरिष्ठ उपरथीहरुलाई पाखा लगाएर कार्कीलाई नेतृत्व चाहेर पनि प्रधानसेनापतिले सुम्पन्न सक्ने अवस्था देखिदैन् । 

कुनै असामान्य परिस्थिति उत्पन्न नभएमा प्रधानसेनापति पूर्णचन्द्र थापापछि शर्मा, शाही र हमालमध्ये एकले नेपाली सेनाको कमाण्ड सम्हाल्ने छन् । यदी सेनामा चमात्कार नै भयो भने मात्र सेनाको नेतृत्व कार्कीले पाउनेछन् ।  शर्मा र शाही सेनामा दुवै जना व्यवसायिक छवि भएका अधिकृतका रुपमा चिनिन्छन् । उनिहरु दुवैको कैफियत भेटिएको अवस्थामा मात्र हमाल र कार्कीलाई त्यसको फाईदा हुनेछ । नभए उनिहरुलाई पन्छाएर नेतृत्व हस्तान्तरण त्यति सजिलो हुनेछैन् । 

प्रधानसेनापति थापाले सेनामा नितिगत सुधार गरेका कारण अहिले उनि संगठनभित्र र बाहिर लोकप्रिय छन् । आफै यो छवीलाई कायम राख्न पनि उनले व्यक्तिगत स्वार्थ र कसैमाथी पुर्वाग्रह साध्ने सम्भावना देखिदैन् । भावी प्रधानसेनापति को हुने भन्ने विषय प्रधानसेनापतिमै निहित भएकाले पनि उनले अघि सारेका सैनिक अधिकारीले नै प्रधानसेनापति वन्ने अवसर पाउंने लगभग निश्चित छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement