राजदूतको ‘मानव तस्करी’ धन्दा : सरकारले किन ‘एक्सन’ लिएन ? बर्खास्त गर्न माग


काठमाडौं-  अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि ‘मानव तस्करी’को आरोप लागेको विषय अहिले चर्चामा छ ।
नेपाली राजदूतावास क्यानबारामा चालकको काम गरेका ओङ्छु शेर्पाले राजदूत लक्की र उनका पतिले विदेश पठाइदिने भन्दै रकम असुल्ने गरेको गम्भीर आरोप लगाएका छन् । राजदूत दम्पतीबाट आफू पीडित भएको शेर्पाले बताएका छन् ।

राजदूतमाथि गम्भीर खालको आरोप लागेको, देशकै प्रतिष्ठामाथि आँच आउने अवस्था आएकाले नेपाल सरकारको परराष्ट्र मन्त्रालयले आरोपलाई गम्भीर र संवेदनशील रुपमा लिनुपर्ने हो । तर, गम्भीर आरोपको विषयमा सरकारको ध्यानाकर्षणसम्म सार्वजनिक भएको छैन । बरु राजदूत शेर्पाको बचाउ गर्दै दूतावासले नै विज्ञप्ति जारी गर्ने काम गरिरहेको छ ।

कसरी ठगिए ओङ्छु शेर्पा ?
लक्की राजदूत हुनुअघि नै ओङ्छु शेर्पा उनका पतिको सम्पर्कमा थिए । उनका पतिले अमेरिका पठाइदिने भन्दै २२ लाख रुपैयाँ लिएका थिए ।
गाउँकै एक जनालाई अमेरिका पठाएकाले विश्वास २२ लाख रुपैयाँ दिएको पीडित ओङ्छु शेर्पाले बताएका छन् । त्यसपछि पनि १०–१० लाख गरेर २ पटक थप रकम दिइएको उनले बताए । अमेरिका पठाइदिने भन्दै पीडित शेर्पाले कूल ४२ लाख रुपैयाँ दिए ।

तर राजदूत दम्पतीले ओङ्छु शेर्पालाई अमेरिका पठाउन सकेनन् । उनले अमेरिकाको भिसाका लागी दर्खास्त दिएपनि उनको भिषा भने लागेन् र अमेरिका पठाउन नसकिरहेकै बेला लक्की शेर्पा राजदूत बन्ने चर्चा चल्यो ।

त्यसपछि ओङ्छु शेर्पालाई पनि दूतावासमै काम गराउने गरी अस्ट्रेलिया लैजाने सहमति भयो । त्यसपछि शेर्पाले दूतावासमै चालकको काम गरे । राजदूत भएपछि शेर्पाले चर्काे रकम लिएर नेपालीलाई अस्ट्रेलिया पठाउने धन्दा शुरू गरेको ओङ्छु शेर्पाको आरोप छ ।

आफूले दिएको पैसा ओङ्छु शेर्पाले फिर्ता माग्न थालेपछि राजदूत दम्पतीले चोरीको आरोप लगाएको र शेर्पाकी पत्नीलाई मुद्दा लगाएर थुनामा पठाएको पीडित शेर्पाको दाबी छ । ओङ्छु शेर्पाकी पत्नी अहिले पनि प्रहरीको थुनामै रहेकी छन् । राजदूतको चक्करमा परेर ओङ्छु शेर्पा परिवार अहिले नराम्ररी फसेको तथा शक्ति र पैसाको आँडमा राजदूत दम्पतीले मनपरी गरिरहेको दाबी गरिएको छ ।
होला त छानबिन ?
ओङ्छु शेर्पाले राजदूत शेर्पामाथि लगाएको आरोपको स्वतन्त्र पुष्टि नभएपनि आरोप छानबिनको विषय चाहिँ हो । यसतर्फ सरकारको ध्यान जानुपर्छ । राजदूतमाथि सार्वजनिक रुपमै आरोप लागिसकेपछि सरकारको तत्काल ध्यानाकर्षण भएर छानबिन प्रक्रिया अगाडि बढ्नुपर्छ । राजदूत एउटा व्यक्ति मात्रै नभएर देशको प्रतिष्ठासँग जोडिएको पद हो ।

मानव तस्करीबाट आएको पैसाबाट राजदूत शेर्पाले काठमाडौंको नयाँपाटीमा दुई रोपनी जग्गा खरिद गरेको दाबी गरिएको छ । ओङ्छु शेर्पाले राजदूतले खरिद गरेको जग्गाको कागजपत्र र तिरेको पैसा आफूसँग रहेको बताएका छन् । ओङ्छुले उक्त घरको कम्पाउण्ड समेत निशुल्क बनाइदिएका छन् ।

राजदूत शेर्पाले कारोबार आफूमार्फत् गर्ने गरेकालाई थप समस्यामा परेको ओङ्छु शेर्पाले बताएका छन् ।
ओङ्छु शेर्पामार्फत् सिंगापुरका तेम्वा शेर्पाका भाई दावा शेर्पालाई अस्ट्रेलिया लैजाने भनेर १४ लाख रुपियाँ राजदूत लक्की शेर्पाले लिएको दाबी गरिएको छ । राजदूत शेर्पाले ५–६ जनाबाट अस्ट्रेलिया लैजान रकम उठाएको आरोप छ ।

राजदूतलाई बर्खास्त गर्न माग
विवादमा आएपछि राजदूत शेर्पालाई बर्खास्त गर्नुपर्ने माग उठेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही नेतालाई प्रभावमा पारेर राजदूत बन्न सफल भएकी शेर्पालाई बर्खास्त गर्न नेकपाकै नेताले माग गरेका छन् ।

सामाजिक सञ्जालमा स्टेटस लेख्दै नेकपाका केन्द्रिय सदस्य विष्णु रिजालले बर्खास्त गरेर कारवाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।

उनले लेखेका छन्, ‘अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि उनकै सहयोगीले मानव तस्करी जस्तो संगीन आरोप लगाएका छन् । कुटनीतिक क्षेत्रसँग पूर्णतः असम्बन्धित उनलाई त के मतलब तर यस घटनाले देशलाई कुटनीतिक बृत्तमा लज्जित बनाएको छ । उनलाई तुरुन्त बर्खास्त गरी कानूनी कारवाहीको दायरामा ल्याउनुपर्छ । विगतमा विवादमा आउनासाथ विश्व प्रधान, माया शर्मा, हमिद अन्सारी लगायत बर्खास्त भएको इतिहास सरकारले सम्झोस्’

पूर्वमाओवादीका विदेश विभाग सचिव युवराज चौलागाईले समेत सामाजिक सञ्जालमा स्टेटस लेख्दै राजदूतका कामले अन्तर्राष्ट्रिय समुदायमा मुलुकको शीर झुकेको बताएका छन् ।

उनले लेखेका छन्, ‘राजदूत मुलुकको दूत हो । नेपालका एक राजदूतका बारेमा मानव तस्करीको संगीन आरोप लागेको छ, जसका कारण अन्तर्राष्ट्रिय समुदायसामु मुलुकको शीर झुकेको छ । नेकपाको समेत सिफारिसमा त्यस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको व्यक्तिबाट त्यसखालको आपत्तिजनक काम भएको सुन्दा हामी लज्जित भएका छौं । नेकपा र नेपाल सरकारले यस परिघटनालाई अत्यन्त गम्भीरतापूर्वक लिई छानबिन गर्नुपर्छ र पदको दुरुपयोग गर्नेमाथि कडा कारवाही गर्नुपर्दछ ।’

यो पनि पढ्नुहोस्-

नेपाली राजदूतमाथि गम्भीर आरोप : के रहेछ पतिपत्नीको धन्दा ?

https://www.youtube.com/watch?v=-nISUSK3i3o&feature=youtu.be&fbclid=IwAR2SmGtDLYdJsSMdmazWOf4y3D_IsNy9mPHzHl5wfIwscY4Aiv96OuWemxM

 

प्रतिक्रिया दिनुहोस
Advertisement