काठमाण्डु-लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ को क बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।
कांग्रेसले दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सरकारमा सहभागीता जनाउने भएको छ ।
लुम्बिनी सरकारमा नेपाली कांग्रेसले ५ जना मन्त्रीलाई पठाउन लागेको हो ।
लामो छलफलपछि कांग्रेसले बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
एमालेले पनि ४ मन्त्रीको नाम टुंगो लगाएको छ । मन्त्रीको नाम टुंगो लागे पनि कुन मन्त्रालय लिने भन्ने विषयमा दुई दल अझै निष्कर्षमा पुग्न नसकेकाले सबै मन्त्रीले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिने भएका छन् ।
कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये सरोज थापा मात्रै यसअघि मन्त्री बनेका हुन् अरु सबै नयाँ अनुहार हुन् ।
प्रतिक्रिया