काठमाण्डु – चार पूर्वप्रधानमन्त्रीहरू आइतबार एकै मञ्चमा देखिँदै छन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि चार पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा देखिने भएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका सह–संयोजक माधवकुमार नेपाल आइतबार एकै मञ्चमा देखिन लागेका हुन्। उनीहरू सबै पूर्वप्रधानमन्त्री हुन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा उनीहरू एकै मञ्चमा देखिन लागेका हुन्। उनीहरू सँगै नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि हुनेछन्।
कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छिन्। कार्यक्रममा ओली, प्रचण्ड, नेपाल, खनाल र यादवले सम्बोधन गर्ने छन्।
विशेषगरी एमाले अध्यक्ष ओली र नेकपाका सहसंयोजक माधव नेपाल लामो समयपछि एउटै मञ्चमा देखिने भएका हुन्।
मदन भण्डारी फाउन्डेसनले आइतबार दिउँसो १ः३० बजे राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ आयोजना गरेको छ।
पछिल्लो समय फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा व्यहोर्नुपरेको राजनीतिक धक्कापछि कम्युनिस्ट पार्टीहरूबीच पुनः एकताको बहसले तीव्रता पाएको छ। विशेषगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भित्री सक्रियतामा नेकपा एमाले र नेकपाबीच एकता गराउने कसरत चलिरहेको पृष्ठभूमिमा यो संयुक्त उपस्थितिलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।




प्रतिक्रिया