काठमाण्डु – मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कारका निम्ति छानिएका १० पुस्तकको सूची सार्वजनिक गरेको छ । सोमबार गुठीका अध्यक्ष कुन्द दीक्षितले सूची सार्वजनिक गरेका हुन् ।
२०८२ को मदन पुरस्कारका लागि प्राप्त भएका २९८ पुस्तकमध्ये गुठीले १० वटालाई श्रेष्ठ सूचीका रूपमा छनोट गरेको हो । यिनै १० वटा पुस्तकमध्येबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।
मदन पुरस्कार गुठीले सार्वजनिक गरेको श्रेष्ठ १० पुस्तकहरूमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी)को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद रहेका छन् ।
२०७२ सालेदेखि गुठीले प्राप्त पुस्तकमध्येबाट बढीमा १० कृति छनोट गरी सूची सार्वजनिक गर्दै आएको छ । यी पुस्तकमध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।
२०७५ सालदेखि यसको पुरस्कार राशि चार लाख रुपैयाँ कायम छ । २०१२ सालमा स्थापित गुठीले पहिलोपल्ट २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो ।
२०८१ सालको मदन पुरस्कार छुदेन काविमोको पुस्तक उरमालले प्राप्त गरेको थियो ।





प्रतिक्रिया