काठमाण्डु- २०८२ सालको मदन पुरस्कार लेखक वीणा जोशी (राजभण्डारी) र जगदम्बा–श्री पुरस्कार गीतकार किरण खरेललाई अर्पण गरिएको छ।
मदन पुरस्कार गुठीले पुरस्कार हरेक वर्ष घटस्थापनाको दिन प्रदान गर्दै आएको छ।
मदन पुरस्कार गुठीको गत २१ भदौमा बसेको साधारण सभाले जोशीद्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार आइतबार दुवै पुरस्कार सम्बन्धित लेखक र कृतिलाई अर्पण गरिएको हो। जोशीद्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ को सङ्कलन तथा अभिलेखीकरण गरेकाले उक्त पुस्तकलाई मदन पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ।
यस वर्ष मदन पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएका थिए। तीमध्ये १० पुस्तकलाई ‘मदन पुरस्कार श्रेष्ठ सूची २०८२’ मा समावेश गरिएको थियो।
श्रेष्ठ सूचीमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ परेका थिए।
त्यस्तै, छ दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई २०८२ सालको जगदम्बा–श्री पुरस्कार अर्पण गरिएको छ।
मदन पुरस्कार र जगदम्बा–श्रीको इतिहास
२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपटक २०१३ सालमा तीन विधामा प्रदान गरिएको थियो।
गद्य विधातर्फ सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रतर्फ चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधातर्फ बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकले पुरस्कार पाएका थिए।
त्यस्तै, रानी जगदम्बाको २०४५ सालमा निधन भएपछि उहाँको स्मृतिमा जगदम्बा–श्री पुरस्कार स्थापना गरिएको थियो। यो पुरस्कार पहिलोपटक गायक नारायण गोपाललाई प्रदान गरिएको थियो।
नेपाली भाषा, साहित्य, वाङ्मय र संस्कृतिको विकासमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई जगदम्बा–श्री प्रदान गरिँदै आएको छ।
मदन पुरस्कार भने नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहरिएको पुस्तकलाई प्रदान गरिन्छ।



प्रतिक्रिया