कोरोना सिंहदरबार प्रवेश नगरेसम्म चेत नखुल्ने भयोः मदनसुन्दर श्रेष्ठ


काठमाण्डु – उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरस सिंहदरबार प्रवेश नगरेसम्म नियम बनाउनेहरुको चेत नखुल्ने बताएका छन् । रफत् सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा उनले नगरपालिका फोरमले पटकपटक सिमा नाका कडाइ गर्न गरेको आग्रह अटेर गर्दा भयावह अवस्था आएको बताए ।

फोरमका सचिव श्रेष्ठले देशभरको सङ्क्रमितको सङ्ख्याको ५० प्रतिशत सङ्क्रमित उपत्यकामा देखिनु र नियन्त्रणमा जिम्मेवार निकायले लापरवाहीकै कारण कोरोना नियन्त्रण बाहिर पुगेको बताए ।

‘हामीले सीमा नाका कडाइ गरौँ, उपत्यका जोगाउन बाहिरी जिल्लाबाट प्रवेश गर्न नदिऔँ र उपत्यकाभित्र लकडाउन खोलौँभन्दा प्रशासनले मानेन,’ उनले भने ।

उपत्यकामा डरलाग्दो अबस्थामा सङ्क्रमण बढ्दै समुदायमा फैलिएको बताउदै उनले उपत्यकाबाट अव दशैं र तिहारको समयमा बाहिर जानेबाट देशैभर कोरोना सङ्क्रमणको दर वृद्धि हुने अवस्था रहेकाले सर्तकता अपनाउन आवश्यक रहेको भनाइ राखे । अब लकडाउनको अर्थ नभएको बताउँदै उनले भाइरस सङ्क्रमण बढी भएको क्षेत्रमा निषेधाज्ञा लगाउन भने सकिने बताउदै दशैं तिहारसम्म सङ्क्रमितको सङ्ख्याले एक लाख नाघ्ने बताए । उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञा कागजमै सीमित बन्दा उपत्यकामा महामारी फैलिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement