काठमाण्ड- सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रियसभा चुनावमा दुई स्थानमा सत्ता गठबन्धनसँग तालमेल नगर्ने भएको छ ।
माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा बाँकी १७ स्थानमा भने जनमतले गठबन्धनलाई समर्थन गर्ने भको छ । तर, लुम्बिनी र मदेशमा आफ्नै उम्मेदवार उठाएको हो ।
जसअनुसार लुम्बिनीमा ‘अन्य क्लस्टर’बाट बालगोविन्द चौधरी थारु र ‘मधेस क्लस्टर’बाट रामशंकर महासेठलाई जनमतले उम्मेदवार बनाएको छ । मधेसमा जनमतले प्रदेश सभामा मात्र १३ सिट जितेको छ।
जनमतको उम्मेदवारीले सत्ता गठबन्धन दलभित्र हल्लीचल्ली मच्चिएको छ। यसभन्दा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राउतलाई भेटेर उम्मेवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, राउतले प्रधानमन्त्री प्रचण्डको आग्रहलाई टेरेनन् । आफ्नो पार्टी सत्ता गठबन्धनमै रहेर पनि आफूले तराई–मधेसका जनताको मुड र भावनाको कदर गरेको अध्यक्ष राउतको भनाइ छ ।
राउतले २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा चुनावमा सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए।
तत्कालीन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँगको गठबन्धनका साझा उम्मेदवार यादवलाई राउतले दोब्बर बढी मत अन्तरले पराजित गरेका थिए।
यससँगै अब राष्ट्रियसभा चुनावमा मधेस प्रदेशमा त्रिपक्षीय भिडन्त हुने भएको छ । गठबन्धनकै एउटा घटक जनमत पनि प्रतिस्पर्धामा छ। मधेसमा कुल मतदाता ३७९ छन् भने मतभार १० हजार ७४४ छ। प्रदेशसभा सदस्यको संख्या १०७ र स्थानीय तहको संख्या १३६ छ। यसैगरी, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष २६७ छन्।
मधेसमा जसपा, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपाबीच गठबन्धन रहेकाले यी दलको कूल मतभार ७००१ छ। कांग्रेसको तीन हजार १०४, जसपाको एक हजार ८१७, लोसपाको ९३३, माओवादी केन्द्रको ७६६ छ।
यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीको ५८०, नागरिक उन्मुक्ति पार्टीको ५३ छ। जनमतको मधेसमा ७४३ र लुम्बिनीमा १५९ मतभार छ । मधेस प्रदेशमा एमालेको दुई हजार ३०२ मतभार छ।
प्रतिक्रिया