देउवा र माधव नेपालबीच डेढ घण्टा भएको छलफलमा के भयो सहमति ?


काठमाण्ड-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसका नेता डा. नारायण खड्काको निवासमा सभापति देउवा र माधव नेपालबीच भेटवार्ता भएको हो । उनीहरुबीच करिब डेढ घण्टा सुदूरपश्चिम सरकार गठनकाबारेमा छलफल भएको स्रोतले जनाएको छ ।

केही दिन अगाडि नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिँदै केन्द्रीय सत्ता गठबन्धनमै फर्किएको थियो।

यसअघि कांग्रेसका कमलकुमार शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेकोमा एकीकृत समाजवादी समेतको समर्थनमा लक्ष्मणले दाबी पेश गरेका थिए ।

सँगसँगै नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा नाउपा सांसद कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । पहिलाको सहमति अनुसार सत्ता गठबन्धन दलले सुदूरपश्चिको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिन नमानेपछि माधव नेपाल रुष्ट भनेका थिए ।

कांग्रेससँग माधव नेपालले हात मिलाएपछि सत्ता गठबन्धनभित्र पहिलाको सहमति अनुसार नेकपा एसलाई मुख्यमन्त्री दिने सहमति जुटेको छ । उक्त सहमति पछि माधव नेपाल सुदूरपश्चिममा पुरानै गठबन्धनमा फर्किएका छन् । यसैबीच सुदूरपश्चिम सरकारबारे देउवा र माधव नेपालबीच छलफल भएको हो ।

भेटवार्तामा उनीहरुबीच सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement