पुरानालाई फिर्ता बोलाउने माधव नेपालको तयारी, को–को बन्दैछन् नयाँ मन्त्री ?


काठमाण्डु – नेकपा एकीकृत समाजवादीले संघीय सरकारमा मन्त्री फेर्ने तयारी गरेको छ । अध्यक्ष माधव कुमार नेपालले हाल रहेका मन्त्रीहरु फेरेर नयाँ सांसदलाई मन्त्री बनाउने तयारी गरेका हुन् । त्यसका लागि उनले पार्टीभित्र छलफल थालेका छन् ।

यसअघि एकीकृत समाजवादी पार्टीले ६/६ महिनामा मन्त्री फेर्ने गरी सरकारमा पठाएको थियो । अध्यक्ष नेपालले अहिले मन्त्री भएकाहरुको ६ महिने कार्यकाल सकिएपछि उनीहरुलाई फिर्ता बोलाएर मन्त्रीमा नयाँ व्यक्तिलाई पठाउनेगरि छलफल थालेको स्रोतले बतायो ।

बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको आचारसंहिता चैत १५ गतेबाट लागू हुँदैछ । आचारसंहिता लागू भएपछि सरकारले नयाँ नियुक्ति गर्न नसक्ने भएकाले चैत १५ गते अघि नै मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ ।

हाल संघीय सरकारमा एकीकृत समाजवादीबाट शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ र स्वास्थ्यराज्यमन्त्रीमा भवानी खापुङ रहेका छन् । एकीकृत समाजवादीबाट नयाँ मन्त्री बन्नेमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र निरादेवी जैरुको नाम चर्चामा रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement