‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाविरुद्ध दृढतपूर्वक उभिनुपर्छः माधव नेपाल


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै नेता नेपालले कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् ।

‘अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौँ । आजपनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरु देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कतव्र्य हुन्छ ’, उनले भनेका छन् ।

नेकपा पुष्पलालको नेतृत्वमा पाँच जनाले २००६ सालमा स्थापना गरेको पार्टी हो । उनले नेकपा आज नेपाली जनताको आशा, भरोषा र विश्वासको केन्द्रका रुपमा स्थापित भएको बताएका छन् ।

‘कम्युनिस्ट पार्टीको अगुवाइ र पहलकदमीमा यस बीचमा युगान्तकारी परिवर्तनहरु भएका छन् । निरंकुश तथा सामन्ती राजतन्त्रको अन्त्य, केन्द्रीकृत राज्यसत्ताको ठाउँमा संघीय प्रणाली समावेशी लोकतन्त्र जस्ता विषयहरुले मुलुक सबैको साझा हो र कसैको विशेषाधिकार छैन भन्ने कुरा व्यवहारमा स्थापित गर्न हामी सफल भएका छौँ । कमरेड पुष्पलालले स्थापना गरेका पदचिन्हहरुमा दृढतापूर्वक हिँड्न सकेकै कारण हामीले नेपालमा ऐतिहासिक परिवर्तनहरु गर्न सकेका छौँ’, नेता नेपालले भने ।

त्यस्तै उनले कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउँदै कमरेड पुष्पलालले स्थापित गरेका मानकहरु सधैँ मार्गदर्शनका रुपमा रहेको बताएका छन् ।

‘कम्युनिस्ट पार्टी र नेता–कार्यकर्ताहरुले जतिसुकै कठिन परिस्थितिमा पनि विचलित हुनहुँदैन र जनतालाई गोलबन्द गर्नबाट पछि हट्नु हुन्न भन्ने उहाँको दृढतालाई सिर्जनशील रुपमा अलवम्बन गर्दै कम्युनिस्ट पार्टीहरुले विभिन्न कालखण्डमा काम गर्न सकेकै कारण आज हामीले यति विशाल पार्टी निर्माण गर्न सकेका छौँ । दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर हामीले हाम्रा संस्थापक महासचिव कमरेड पुष्पलालको सपनालाई साकार मात्र पारेका छैनौँ, नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मक रुपमा एक कदम अघि बढाउन ठोस योगदान समेत गरेका छौँ’, नेता नेपालले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement