माधव नेपाल भारत जाने हल्ला मात्रै !


काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवाद हल गर्ने सम्बन्धमा माधवकुमार नेपाललाई विशेषदूत बनाएर पठाउने कुरा हल्ला बढी भएको बताएका छन् ।

सोमवार बसेको नेकपा सचिवालय बैठकपछि पत्रकारले सोधेको प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठले यसअघिको बैठकमा छलफल भएपनि यसपटक धेरै छलफल नभएको बताएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले कमरेड माधवकुमार नेपाललाई सरकारको विशेषदूतका रूपमा अहिले देखा परेका सीमा समस्या समाधान गर्न भारत भ्रमणमा जान अनुरोध गर्नुभएको कुरा कमरेड नेपालले यसअघि बैठकमा जानकारी गराउनुभएको थियो,’ उनले भने, ‘त्यसबारेमा पार्टीले कुनै छलफल र निर्णय गरेको छैन । यो सम्माननीय प्रधानमन्त्री र उहाँले पठाउने दूतहरूको सम्बन्धित कुरा हो । यसबारे पार्टीमा अलिअलि सल्लाह भएको हो, धेरै हल्ला भएको हो । ’

प्रधानमन्त्री ओलीले सीमा विवाद समाधानका लागि नेता नेपाललाई विशेष दूतको रुपमा पठाउन प्रस्ताव गरेपनि भारतले चासो नदेखाएको समाचार प्रकाशमा आएका छन् ।

त्यस्तै बैठकले उपनिर्वाचन भएका ठाउँबाट समीक्षा प्रतिवेदन पठाउने समय थप गरेको छ ।

यसअघि सचिवालय बैठकले मंसिर २२ गतेसम्म समीक्षा रिपोर्ट पठाउन निर्देशन दिए पनि केही जिल्लाबाट रिपोर्ट नआएकोले पाँच दिन थप गरिएको हो ।

‘उपनिर्वाचनको समीक्षात्मक रिपोर्ट बुझाउने समय पाँच दिन थप गरिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement