नेकपामा माधव नेपाल पक्षलाई सुध्रिने अन्तिम मौका


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल पक्षमाथि थप कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन् ।

सोमबार बालुवाटारमा बसेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा प्रधानमन्त्री अ‍ोलीले पार्टीभित्र गुटबन्दी गर्नेमाथि थप कारबाही गर्ने बताएका छन् ।

उनले पार्टीमा अलमलिएका, भड्कावपूर्ण चिन्तन र गतिविधिमा संलग्न रहेका माधव नेपाल समूहलाई पार्टीमा फर्किन पुनः आह्वान गर्ने पनि बताएका छन् । उनले पार्टीको निर्देशनअनुसार काम नगरे माधव नेपाल समूहका नेतामाथि थप कारबाही गर्ने संकेत गरेका छन् ।

‘अब हामी पार्टीलाई अनुशासित, एकतावद्ध, गतिशील, जनआधारित कार्यकर्ता कम्युनिष्ट पार्टीका रुपमा अझ सुदृढ गर्छौं र जनताको मनमनमा भिजेको पार्टी बनाउँछौँ । शुद्धीकरण र सुदृढीकरण साथसाथै अघि बढाउँछौं’, उनले राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘त्यसैले अब गुटबन्दीलाई कुनै हालतमा प्रश्रय दिइने छैन । अलमलिएका, भड्कावपूर्ण चिन्तन र गतिविधिमा संलग्न रहनुभएका साथीहरुलाई पार्टीमा फर्किन पुनः आह्वान गर्छौँ । विगतका तिक्ततालाई बिर्सेर सबैलाई स्वागत गरिनेछ । सबैलाई सम्मानपूर्वक काम दिइनेछ, कसैप्रति पनि पूर्वाग्रह राखिने छैन । आउनुहोस्, एकतावद्ध भएर उच्च मनोबलका साथ अगाडि बढौं, हामी सफल हुनेछौँ ।’

प्रधानमन्त्री ओलीले संकटको घडीमा आफूलाई साथ दिने माओवादी केन्द्रका नेताहरुलाई पार्टीमा उचित कदर हुने बताए ।

‘उहाँहरुको योगदानको उचित कदर हुने छ । संकटको बेला पुनर्गठित पार्टी कमिटी, जनसब्गठन र नयाँ जिम्मेवारीहरु हाललाई मूलतः कायमै रहने छन् । भ्रममुक्त भई फर्केर आउनु हुने साथीहरुलाई आवश्यकता अनुरुप उचित जिम्मेवारी दिइनेछ,’ उनले भनेका छन् ।

३२ जना सांसदमाथि कारबाहीको तयारी

नेकपा एमालेले पार्टी हितविपरित कार्य गरेको भन्दै ३२ जना नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ । एमालेले संघीय संसदका २७ जना र कर्णाली प्रदेशका पाँच जनासहित ३२ जना सांसदहरुलाई सांसद पदबाट हटाउने तयारी थालेको हो ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनमा स्पष्टिकरण दिने निर्देशनसहितको पत्र दिने तयारी भइरहेको छ । सम्भवत आजै उनीहरुलाई स्पष्टिकरण पत्र बुझाउने तयारी भएको हो ।

चित्त बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement