‘सूर्य’ चिन्हमा आँखा नलाउन प्रधानमन्त्रीलाई माधव नेपालको चेतावनी


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाको नाम नलिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

मंगलबार पाँचथरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपाले ओलीलाई अध्यक्षबाट हटाइसकेकाले नाम नलिन चेतावनी दिएका हुन् ।

‘४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन्’, उनले भने, ‘यदि, अध्यक्ष नै बन्ने मन छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ । गुटको अध्यक्ष बन्नुहोस्, घरको अध्यक्ष बन्नुहोस् ।’

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सूर्य चिन्ह नपाउने बताउँदै बयलगाडा लिएर जान आग्रह गरेका छन् । उनले केपी ओली निर्वाचनबाट आएको तानाशाही भएको आरोप लगाएका छन् ।

‘हेक्का होस् ६२/६३ सालको गणतन्त्रको आँधिबेहेरी सिर्जना गर्ने मान्छे यो माधव नेपाल हो । केपी जी त गणतन्त्र विरोधी । बयलगाडा चढेर वासिङटन जानुपर्छ भन्ने मान्छे,’ अध्यक्ष नेपालले भने, ‘आँखा नलाउनु होला यो सूर्य चिन्ह हामीतिरै रहन्छ । बाहिर फैलिएका हल्लामा नपर्नु होला । सूर्य जता जान्छ हामी त्यतै जान्छु भन्नेलाई भन्दिनुस् सूर्य यतै छ जता नेपाल कम्युनिष्ट पार्टी छ ।’

उनले प्रचण्डसँग आफ्नो ४० वर्षदेखीको सम्बन्ध रहेको बताउँदै केपी ओलीले ६३ सालबाट मात्रै चिनेको बताए । त्यस्ते उनले आफूलाई प्रधानमन्त्री ओलीले मामूली कार्यकर्ता भनेको विषयमा आपत्ति जनाएका छन् । उनले १५ वर्ष पार्टी हाँकेको मान्छेलाई मामुली कार्यकर्ता भन्ने ? भन्दै आक्रोश पोखेका छन् ।

‘प्रचण्डसँग ४० वर्ष पहिले मेरो भेट भएको थियो । म काठमाण्डुको पार्टीको जिम्मेवार थिएँ । प्रचण्ड काठमाण्डुको जिम्मेवार हुनुन्थ्यो । केपीले प्रचण्डलाई देखेको पनि २०६३ सालमा हो, नेपालले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement