कुनै नेताले गल्ती गरेको भन्दैमा सबैलाई खराब र गलत भन्न मिल्दैन : अध्यक्ष नेपाल


टीकापुर – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पार्टी र नेताले गल्ती गरेको भन्दैमा सबैलाई खराब र गलत भन्न नमिल्ने बताएका छन् ।

कैलालीको टीकापुरमा बिहीबारदेखि सुरू भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘कुनै पार्टी र नेताले गल्ती गरेको भन्दैमा सबै नेता खराब सबै पार्टी गलत भन्न मिल्दैन ।’

उनले पार्टीले निर्वाचित जनप्रतिनिधिलाई निगरानी राख्नुपर्ने बताए ।

उनले अब मुलुकमा राजतन्त्र फर्किन सक्ने सम्भावना नरहेको बताए । ‘केही मान्छेले खुट्टा उचालिरहेका मात्रै हुन्, राजतन्त्र इतिहास भइसकेको छ अब त्यो फर्केर आउन सम्भव छैन,’ उनले भने, ‘एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन, फेरि दास बनाउने गरी कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन ।’

उनले रेशम चौधरी टीकापुर घटनामा प्रत्यक्ष रूपमा नरहेको दाबी गरे । उनले भने, ‘सबै समुदायको बीचमा सम्मानको व्यवहार गर्नुपर्छ । यो देशको आफ्नो पहिचानलाई जोगाउनुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement