जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको छ : माधव नेपाल

जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको छ : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप लगाएका छन् ।

शुक्रबार १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले एकपछि अर्को जनविरोधी तथा मजदुरविरोधी काम गरिरहेको आरोप लगाए । उनले जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको दाबी गरे ।

उनले भने, ‘वर्तमान सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ । मजदुर विरोधी काम गरिरहेको छ । जनताको वासस्थान खोसिँदै गएको छ । रोजगारीको अधिकार पनि खोसिँदै गएको छ ।’

नेपालले सुकुम्बासी समस्यातर्फ पनि सरकारको ध्यानाकर्षण गराउँदै वास्तविक र नक्कली सुकुम्बासी छुट्याउने, तथ्यांक संकलन गर्ने र वैकल्पिक व्यवस्थाको खोजी नगरी दमनात्मक कदम चालिएको बताए ।

उनले भने, ‘सुकुम्बासी समस्या समाधान कसरी गर्ने ? वास्तविक र नक्कली सुकुम्बासी को हुन् भनेर छुट्याउने काम नगरी, तथ्यांक संकलन नगरी र वैकल्पिक व्यवस्था नखोजी दमन गर्ने कामलाई जायज भन्न सकिँदैन ।’

उनका अनुसार रोजगारीको अभावका कारण युवाहरू विदेशिन बाध्य छन्, जसका कारण कतिपय नेपाली कामदारको शव स्वदेश फर्किनुपर्ने अवस्था दु:खद रहेको छ ।