छोरा र भाइको खबर कुर्दाकुर्दै ११ दिन बित्यो, अन्ततः माधवले लेखेः ‘भावपूर्ण श्रद्धाञ्जली’

छोरा र भाइको खबर कुर्दाकुर्दै ११ दिन बित्यो, अन्ततः माधवले लेखेः ‘भावपूर्ण श्रद्धाञ्जली’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा– रसुवाका माधव लामिछानेले १० भदौको बाढीमा हराइरहेका छोरा र भाइको उद्धारको आशा त्यागेर श्रद्धाञ्जली दिएका छन् ।

रसुवागढीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका छोरा समीर लामिछाने र भाइ बासुदेव लामिछानेको उद्धार र खोजी नगरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत दुवैलाई भावपूर्ण श्रद्धाञ्जली दिएका हुन् ।

‘रसुवागढी उद्धारको अन्तिम आशा समाप्त । भावपूर्ण श्रद्धाञ्जली छोरा समीर, भाइ बासु लगायत सबैमा,’ उनले लेखेका छन् ।

बाढी आएको दिनदेखि नै माधवको एउटै आग्रह थियो– बेपत्ता छोरा र भाइलाई जसरी भए पनि खोजियोस् । माधवका भाइ बासु रसुवागढी भन्सार क्षेत्रबाट र छोरा समीर रसुवागढी जलविद्युत् आयोजनाको सुरुङबाट सम्पर्कविहीन भएका थिए ।

आफ्ना परिवारका दुई सदस्य एकै विपत्तिमा बेपत्ता भएपछि माधवले पटक–पटक सामाजिक सञ्जालमार्फत उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गर्दै आएका थिए ।

उनी कहिले उद्धार टोलीको प्रतीक्षामा देखिन्थे, कहिले सुरुङभित्र फसेका आफ्ना छोराको अवस्थाबारे जानकारी मागिरहेका हुन्थे ।

दिन बित्दै गए । उद्धारको प्रयास पनि चलिरह्यो । तर, न छोरा समीर भेटिए, न भाइ बासुको कुनै खबर आयो ।

बाढीपछि रसुवागढी क्षेत्रका विभिन्न स्थानमा खोजी तथा उद्धारका प्रयास भए । जलविद्युत् आयोजनाको सुरुङमा समेत उद्धार टोली परिचालन भयो ।

तर, लामो प्रतीक्षा गर्दा पनि समीर र बासुको सहित अवस्था यकिन हुन सकेन ।