भाइ र छोरा बेपत्ता भएका माधव लामिछानेको प्रश्नः ११ दिनसम्म सुवागढीमा किन उद्धार सुरु भएन ?

भाइ र छोरा बेपत्ता भएका माधव लामिछानेको प्रश्नः ११ दिनसम्म सुवागढीमा किन उद्धार सुरु भएन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा — त्रिशूली नदीमा आएको बाढीमा भाइ र छोरा बेपत्ता भएका रसुवा उत्तरगया गाउँपालिकाका माधव लामिछानेले रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उद्धार कार्यमा भएको ढिलाइप्रति आपत्ति जनाएका छन् ।

लामिछानेका भाइ बासु रसुवागढी भन्सार क्षेत्रबाट र उनका एक छोरा रसुवागढी जलविद्युत् आयोजनाको सुरुङबाट बाढीपछि बेपत्ता भएका हुन् ।

आफ्ना परिवारका दुई सदस्य बेपत्ता भएको ११ दिन पुग्दा पनि उद्धारमा अपेक्षित प्रगति नभएको भन्दै लामिछानेले सामाजिक सञ्जालमार्फत सरकारसँग जवाफ मागेका हुन् । अन्यत्र उद्धारको काम जारी रहँदा रसुवागढीमा राज्यको उपस्थिति शून्य हुनुको कारण उनले माग गरेका छन् । एउटै छाता, एउटै मन्त्रालय, एउटै जिल्ला, एउटै बाढी तर एउटा साइटमा विज्ञ टोली, अर्कोमा मौनता,’ उनले लेखेका छन्, ‘एघार दिन । एउटा खन्ने मेसिन छैन, एउटा प्राविधिक टोली छैन, एउटा जवाफ छैन । रसुवागढीमा उद्धार किन सुरु भएन ?’, उनको प्रश्न छ ।

बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन हुनुका साथै विभिन्न ठाउँमा हेलिकप्टर र प्राविधिक जनशक्तिसमेत परिचालन गरिएको उल्लेख गर्दै उनले रसुवागढीमा भने उद्धारमा ढिलाइ भएको गुनासो गरेका छन् ।

‘हेलिकप्टर उड्यो, विज्ञ आयो, सेना खटियो—तर रसुवागढी हुँदै गएन कि सूचीमा नाम थिएन’ उनी भन्छन् ।

उनले उद्धारका लागि स्रोत र समय हुँदाहुँदै पनि रसुवागढीमा काम अघि नबढेको भन्दै सम्बन्धित निकायसँग कारण मागेका छन् ।

‘स्रोत थियो । समय थियो। मान्छे भित्रै थिए । तैपनि सुरु भएन । किन ?’ उनले लेखेका छन्, ‘ ‘रसुवागढीको प्रवेशद्वारमा आज ११ दिन । कुन कागज पर्खिएको छ ? कसको हस्ताक्षर बाँकी छ ?’

लामिछानेले उद्धारमा भएको ढिलाइलाई सामान्य प्राविधिक समस्या मात्र मान्न नसकिने उल्लेख गरे । ‘उद्धार नगर्नु पनि एउटा निर्णय हो । त्यो निर्णय कसले गर्‍यो ?’ उनको प्रश्न छ । उनका अनुसार एउटै बाढीमा विभिन्न स्थानमा मानिस फसे पनि उद्धारमा समान प्राथमिकता नदिइएको देखिएको छ ।

‘एउटै बाढीमा छ ठाउँमा फसे । एउटालाई देशले देख्यो, अर्कोलाई देखेन,’ उनले भने, ‘मौनता प्राविधिक बाध्यता होइन । यो असमर्थता होइन । यो छनोट हो । र छनोटले भन्छ, कुन साइटको मान्छे गन्ती हुन्छ, कुनको हुँदैन ।’

आफ्ना भाइ र छोरा बेपत्ता भएको ११ दिन बितिसक्दा पनि परिवारलाई उद्धारको स्पष्ट समयतालिका र योजनाबारे जानकारी नदिइएको भन्दै उनले सम्बन्धित निकायसँग जवाफ मागेका छन् । ‘रसुवागढीमा कहिले सुरु हुन्छ ? मिति भन्नुहोस् । समय भन्नुहोस् । नाम भन्नुहोस्,’ लामिछानेले लेखेका छन् ।