आलोपालो प्रधानमन्त्री माग्न बालुवाटार पुगे माधव नेपाल, निशर्त सरकारमा जान आनाकानी


काठमाण्डु – नेकपा एकीकृत समाजवादीले नयाँ गठबन्धनको सरकारमा सहभागी हुन आलोपालो प्रधानमन्त्रीको शर्त राखेको छ ।

यसअघिको नेपाली कांग्रेस सम्मिलित गठबन्धनमा रहँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई १ वर्ष प्रधानमन्त्री बनाउने गोप्य सहमति भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उतिबेलाको सहमति तोडेर नेकपा एमालेसँग गठबन्धन गरेका छन् ।

एमालेसँग गठबन्धन हुँदा पनि आफूले १ वर्ष प्रधानमन्त्री हुन पाउनुपर्ने अध्यक्ष नेपालको शर्त रहेको स्रोतको दाबी छ । सोही शर्तबारे छलफल गर्न यतिबेला अध्यक्ष नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

एकीकृत समाजवादीको सचिवालय बैठक शर्त राखेर सरकारमा सहभागी हुनेबारे सकारात्मक भएको छ । शर्त पूरा नहुने अवस्थामा सरकारमा जान भने एकीकृत समाजवादीले आनाकानी गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुन पार्टीले केही शर्त अघि सारेको बताए । सरकारले देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, राष्ट्रियताको रक्षा र संवर्द्धधन गर्न, भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्न, महंगी नियन्त्रण लगायत जनताका समस्याहरूको समाधान गर्ने र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्ने भए एकीकृत समाजवादी सरकारमा सहभागी हुने शर्त देखाइएको छ ।

उनले भने, ‘प्रधानमन्त्रीले नयाँ समीकरणको आरम्भ गरेपछि हाम्रो पार्टीसँग नयाँ समीकरणमा सरकारको गठन र सञ्चालन तथा नीति कार्यक्रममा एकीकृत समाजवादीको समान सहभागिता र भूमिका रहने प्रस्ताव गर्नुभएको सन्दर्भमा बैठकमा छलफल भयो । प्रस्तावलाई सकारात्मक रूपले लिँदै प्रधानमन्त्रीसँग विभिन्न विषयमा छलफल गरेपछि आवश्यक निर्णय गरिन्छ । यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएर वार्ता गर्न पठाएका छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement