काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले आफ्ना कार्यकर्तालाई ‘झोले’ बनाएको आरोप लगाएका छन् ।
आईतबार पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई पार्टीप्रति समर्पित बनाउनुहोस्, झोले नबनाउँनुहोस् भन्दै सुझाव दिए ।
उनले भने, ‘वर्तमान सरकारका तौरतरिकालाई हेर्दा दिक्क लागिरहेको छ । त्यसैले सरकारलाई बेलाबेलामा सुझाव दिइरहेको छौं । सरकार गलत बाटो नहिँडोस्, गलत दृष्किोण त्यागोस् । आग्रह–पूर्वाग्रह नलियोस् । देश र जनताको कल्याणको निम्ति इमान्दारिताकासाथ लागोस् । आफ्नो कार्यकर्तालाई समर्पित बनाउनुहोस्, झोले नबनाउनुहोस् ।’
उनले शक्तिशाली सरकार भएर पनि सरकारले आफ्नो देशलाई राम्रो बनाउने कुरामा ध्यान नदिएको बताए ।
उनले भने, ‘सरकारले आफ्नो देशलाई राम्रो बनाउने कुरामा खै ध्यान दिएको ? जबकी योभन्दा शक्तिशाली सरकार सम्भवतः अर्को बन्न सक्दैन संख्याको हिसाबले, पार्टीको हिसाबले पनि अत्यन्तै ठूलो रहेको सरकार अहिले देशमा हुँदा त्यसले पनि केही गर्न सकेन भने विकासबारे प्रश्न उठाउनु स्वाभाविक हो । जनतामा भएको निराशाको फाइदा उठाउन खोज्नु पनि स्वाभाविक हुन्छ ।’
प्रतिस्पर्धाको राजनीतिमा आफूहरू लागिरहेको भन्दै उनले प्रतिस्पर्धाबाट कुनै पनि हालतमा पछि नहट्ने दाबी गरेका छन् ।
प्रतिक्रिया