प्रधानमन्त्री प्रचण्डलाई धम्क्याउँदै माधव नेपाल, सरकार ढल्न सक्छ ?


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदादेखि सहकार्य गरिरहेका छन् ।

पछिल्लोपल्ट आफू प्रधानमन्त्री बन्न प्रचण्ड नेकपा एमालेसँग मिल्न गए । तर माधव नेपाल देउवाकै कित्तामा उभिए । ओली नजिक भएका प्रचण्डलाई फेरि देउवा नजिक ल्याउन माधव नेपालले भूमिका खेले । हाल प्रचण्ड र माधव नेपाल सत्तारुढ गठबन्धनमै छन् । तर मन मिलेको देखिँदैन ।

अध्यक्ष नेपालले सरकार र सत्तारुढ गठबन्धनभित्रको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आएका छन् । केही दिनअघि कर्णाली प्रदेशमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनप्रति असन्तुष्टि जनाएका थिए । पछि काठमाडौं आएर नेपालले कर्णाली प्रदेशको सन्दर्भमा सरकारमा भाग नदिएको भनेर असन्तुष्टि पोखेको स्पष्टीकरण दिएका थिए ।

अध्यक्ष नेपालले फेरि सरकारप्रति सार्वजनिक असन्तुष्टि पोखेका छन् । आज शनिबार नेकपा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले आफूहरूले चाहेमा सरकार ढाल्नसक्ने सार्वजनिक चेतावनी दिए । संसद्मा सिट संख्या कम भएको भनेर गठबन्धनभित्र अपमान र अवमूल्यन हुने गरेको उनको गुनासो छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा सिट संख्या जोड्दा एकीकृत समाजवादी चौथो शक्ति रहेको अध्यक्ष नेपालले दाबी गरे । धेरै सिट संख्या भनेर घमण्ड गरेमा एमालेको जस्तै हालत बनाइदिने अध्यक्ष नेपालको चेतावनी छ ।

अध्यक्ष नेपालले प्रचण्ड सरकारमा ठूलो हिस्सेदारी खोजिरहन्छन् । तर कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई सानो दल भनेर हेप्ने गरेको गुनासो अध्यक्ष नेपालले पटक–पटक सुनाउँदै आएका छन् । एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाएको छैन ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन फिर्ता लिएपछि सरकार अप्ठ्यारोमा पर्ने चर्चा हुन थालेको छ । झन् नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीको जेल सजाय कायमै रहेको अवस्थामा उन्मुक्ति असन्तुष्ट देखिएको छ । अर्काेतिर अत्यन्तै निकट दल एकीकृत समाजवादीका अध्यक्ष नेपालले नै सरकार ढाल्नसक्ने चेतावनी दिएपछि प्रचण्ड सरकारमाथि थप संकट बढ्नसक्ने बताइन्छ । अध्यक्ष नेपालले प्रचण्डलाई धम्क्याएर भाग पाउन मात्रै यस्तो अभिव्यक्ति दिएका हुन् कि साँच्चिकै सरकार ढाल्ने हुन् ? हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement